समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले भिजिट भिसासम्बन्धी प्रावधानहरू खुकुलो बनाउँदै नयाँ व्यवस्था लागू गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार पुराना कडा प्रावधानहरू हटाएर अब भिजिट भिसामा विदेश जान चाहनेका लागि प्रक्रिया सहज बनाइएको हो।
अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै नयाँ प्रणाली अनुसार अब भिजिट भिसामा विदेश जानका लागि चार कागजात पर्याप्त हुने जनाएको छ। ती कागजातमा कम्तीमा ६ महिना वैध राहदानी, सम्बन्धित देशको भिसा (वा अन अराइभल भिसा हुने देशका लागि आवश्यक नपर्ने), गन्तव्यसम्मको हवाई टिकट, र यात्राको उद्देश्य स्पष्ट उल्लेख गरिएको स्वघोषणा पत्र पर्छ।
यसअघि भिजिट भिसाका यात्रुका लागि न्यूनतम ५०० अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो। तर अब यी शर्तहरू हटाइएका छन्। भिजिट भिसासम्बन्धी समस्या समाधान गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको थियो। समितिले नागरिकको आवतजावतको अधिकार सुनिश्चित गर्दै स्वार्थ समूहको चलखेल रोक्ने र अध्यागमन प्रशासनमा सुशासन बढाउने सिफारिस गरेको थियो।
विभागका अनुसार १० माघ २०८० देखि लागू ६ बुँदे मापदण्ड र पुराना भिजिट भिसा प्रावधानहरू खारेज गरिएका छन्। नयाँ व्यवस्था आजदेखि लागू भएको छ। विभागले नागरिकहरूलाई बिचौलियाको प्रभावमा नपरी सचेत र निर्धक्क भएर यात्रा गर्न आग्रह गरेको छ।








