समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। उक्त आदेशविरुद्ध उनले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। सो प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले चार भागमध्ये आफ्नो हिस्सा बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित बुझाएका छन्।
जोशीले पनि त्यति नै रकम बराबरको जमानत पेस गरेका छन्। तर, दुवैको व्यक्तिगत बिगो रकम स्पष्ट नभएकाले अदालतले रिहा नगर्ने आदेश जारी गरेको हो। हाल लामिछानेलाई नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन्।








