समाचार सुन्नुहोस :
काठमाडौँ – सोलुखुम्बुको लुक्ला नजिक लुबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान उद्धारका लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले हेलिकप्टरमा यात्रु नरहेको र पाइलट सकुशल रहेको जानकारी दिइन्। उनका अनुसार, हेलिकप्टर ल्यान्डिङका क्रममा चिप्लिँदा दुर्घटना भए पनि कुनै मानवीय क्षति भएको छैन। दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ। हेलिकप्टरमा सामान्य क्षति पुगेको बताइएको छ।
हेलिकप्टर काठमाडौंबाट उद्धार कार्यका लागि लुबुचे पुगेको थियो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार कार्तिक १२, २०८२
प्रकाशित समय: १३:४७:५१








