काठमाडौं – श्रम मन्त्रीमा सिफारिस भएर शपथ रोकिएका खगेन्द्र सुनारले आफूविरुद्ध सञ्चारमाध्यम खनिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमहरूले बुझ्दै नबुझि आफूविरुद्ध समाचार लेखेको दाबी गरेका हुन् ।
उनीविरुद्ध विभिन्न विवाद सार्वजनिक भएपछि अन्तिम समयमा मन्त्री पदमा नियुक्ती रोकिएको थियो । स्वतन्त्र सरकारले कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनलाई मन्त्री बनाउन लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको शपथ रोकेकी थिइन् । आफूविरुद्ध आएका समाचारको हेडिङ पढ्दै सुनारले भनेका छन्, ‘कांग्रेस महाधिवेशन प्रतिनिधि खगेन्द्र सुनार ? पख्नुस् है, यो पनि समाचारको हेडलाइन हो ?’
उनको प्रश्न छ, ‘कांग्रेस हुनु भनेको अपराधी हुनु हो ? कांग्रेस हुनु भनेको रिह्याब सेन्टरबाट लिएर आएको भनेजस्तो हो ? यो कुनै त्यस्तो भूमिगत बोको हरामको सदस्य हुनु जस्तो हो ? ओसामा विन लादेनको सदस्य हुनु भनेजस्तो हो कांग्रेस महाधिवेशन प्रतिनिधि ?’
सुनार २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि दैलेख– १ बाट महाधिवेशन प्रतिनिधि बनेको खुलेको थियो । उनी अहिले पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि कायम रहेका छन् । मन्त्रीको शपथ लिनु अघि सुनार विभिन्न तीन अदालतमा मुद्दा चलिरहेका, पक्राउ पुर्जी जारी भएका र उनले महिला विरुद्ध अभद्र टिप्पणी गरेका विषय बाहिर आएका थिए । सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको छ ।








