समाचार सुन्नुहोस :
काठमाडौँ – सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिनको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो खाना खाई व्रतको संकल्प गर्छन्, जसलाई ‘नहाय–खाय’ भनिन्छ। दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभर निराहार बस्छन् र राति सख्खरमा पकाइएको खीर खाएर ‘खरना’ विधि पूरा गर्छन्।
तेस्रो दिन षष्ठीका बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन, अर्थात् आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ। छठका लागि तयार पारिने पूजा सामग्रीहरू ढिकी–जाँतोमा पिसिएको गहुँ र चामलको पीठोबाट बनेका ठकुवा, भुसुवा, मिष्टान्न, माटोको भाँडामा जमाइएको दही, उखु, फलफूल, कोसिया कुरुवार लगायतका परिकार हुन्। यी सबै वस्तु सूर्यलाई अर्घ्य दिने बेला प्रयोग गरिन्छ।
जनविश्वास अनुसार, छठ पर्व गरीबी, निःसन्तानता र रोगबाट मुक्ति पाउने, स्वास्थ्य, सन्तान र दीर्घायु प्राप्त हुने विश्वास गरिएको छ। धार्मिक आस्थासँगै यो पर्वमा वैज्ञानिक र ज्योतिषीय महत्त्व पनि जोडिएको छ।








