टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोमबारबाट सुरु हुने टोकियो भ्रमणलाई लक्षित गर्दै टोकियो महानगर प्रहरी विभागले उच्च सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्था कडा बनाउनका लागि विशेष सुरक्षा मुख्यालय स्थापना गरी करिब १८ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
मिनोटो वडास्थित अमेरिकी दूतावास वरपर सवारी साधन चेकजाँच र तालिमप्राप्त कुकुरसहित गस्ती बढाइएको छ । कुनै पनि आपतकालीन अवस्थाको तयारीका लागि प्रहरीले सब-मेसिन गनले सुसज्जित आपतकालीन प्रतिक्रिया टोली (ERT), विस्फोटक पदार्थ निष्क्रिय पार्ने र रासायनिक सुरक्षा इकाई, ड्रोन नियन्त्रण गर्न सक्ने इकाई, र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने सुरक्षा कुकुरहरू परिचालन गर्नेछ ।
राष्ट्रपति ट्रम्पको बुधबारसम्म चल्ने भ्रमणका क्रममा महानगरीय एक्सप्रेसवेका साथै अन्य सडकहरू, विशेषगरी मध्य टोकियोमा ट्राफिक प्रतिबन्धहरू लागू गरिनेछ । प्रमुख रेल स्टेशनहरूमा गस्ती बढाइनेछ र स्टेशनहरूमा लगेज लकरहरूको प्रयोगमा रोक लगाइनेछ ।
ट्राफिक जामको सम्भावना रहेकाले महानगरीय प्रहरी विभागले सर्वसाधारणलाई सकेसम्म निजी सवारी साधन प्रयोग नगर्न र सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ ।








