समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल सम्वत् ११४६ आज (बुधबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले यो दिनलाई नयाँ वर्षका रूपमा विशेष रूपमा मनाउने परम्परा रहेको छ। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत् सुरु गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्का रूपमा मान्यता प्राप्त थियो।
उनका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल सम्वत् देशकै मौलिक सम्वत् हो। लिच्छविकालअघि शक सम्वत् प्रयोगमा रहेको भए पनि “नेपाल” नामबाट सुरु भएकाले यसलाई नेपाली मौलिक क्यालेन्डर मानिन्छ।विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिन अभियान सुरु गरिएको थियो। काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रका नेवार समुदायले यो पर्व विशेष उत्साहका साथ मनाउने गर्छन्।
गरिबको ऋणमोचन गरी सामाजिक न्यायको उदाहरण प्रस्तुत गरेका शंखधर साख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। यस अवसरमा काठमाडौंमा बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा आज पनि कायम छ।








