समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले ‘जेन–जी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि भैपरी खर्चका रूपमा ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न सो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्ले असोज १२ गतेको बैठकबाट घाइतेको वर्गीकरणपछि उपयुक्त राहत उपलब्ध गराउने र तत्कालका लागि भैपरी खर्चको रकम दिने निर्णय गरेको थियो। हालसम्म स्वास्थ्य मन्त्रालयले दुई हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई उपलब्ध गराएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई सहज उपचारका लागि परिचयपत्र वितरण भइरहेको छ। गृह मन्त्रालयले दुई हजार ८७६ परिचयपत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको र ३८ वटा अस्पतालमार्फत वितरण भइसकेको जनाएको छ।
घाइतेहरूको पुनःउपचारका लागि विभिन्न अस्पतालमा ‘जेन–जी क्लिनिक’ सञ्चालन गरिएको छ। ती अस्पतालमा उपचार गर्न आउनेलाई निःशुल्क आवतजावत सुविधा पनि उपलब्ध गराइएको छ। स्वास्थ्य मन्त्रालयले घाइतेको उपचार सहज बनाउन ‘हटलाइन’ र सम्पर्क व्यक्ति तोकेको छ। घाइतेको अवस्थाका आधारमा वर्गीकरण गर्न प्राविधिक समिति गठन हुँदैछ, जसमा घाइतेका प्रतिनिधि पनि रहनेछन्।
मन्त्रालयका अनुसार हालसम्म सरकार एक अर्ब रुपैयाँभन्दा बढी रकम उपचारमा खर्च गरिसकेको छ। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव विकास देवकोटा सहितको टोलीसँग घाइतेहरूको अवस्था बारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी थिइन्। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार घाइतेहरूको दीर्घकालीन पुनर्स्थापनाबारे पनि सरकारी निकायबीच छलफल भइरहेको छ।








