समाचार सुन्नुहोस :
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुन विपरीतका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मैनबत्ती वा बिजुली प्रयोग गर्दा सावधानी अपनाउन र आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य विष्फोटक वस्तु बिक्री, खरिद, ढुवानी र प्रयोग नगर्न सूचनामा भनिएको छ।
देउसी–भैलो मर्यादित र अनुशासित तरिकाले राति ९ बजेसम्म मात्र खेल्न अनुरोध गरिएको छ। सडक, पदमार्ग वा सार्वजनिक स्थानमा अवरोध हुने गरी देउसी–भैलो खेल्न वा पूजा मण्डप बनाउन नपाइने सूचनामा उल्लेख छ। प्रशासनले चाडपर्वमा चोरीको सम्भावना बढ्ने भएकाले घर खाली नछोड्न, छोड्नुपरेमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
त्यसैगरी, कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि वा म्याद नाघेका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी दिइएको छ। सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र तोकिएको भाडा मात्र लिन पनि ध्यानाकर्षण गराइएको छ। प्रशासनले अवैध चिठ्ठा, जुवातास, अनलाइन ठगी र अन्य गैरकानूनी कारोबारबाट सचेत रहन सबैलाई आग्रह गरेको छ।








