समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा देउसी–भैली र अन्य सांस्कृतिक कार्यक्रमको तयारी सुरु भएको छ। तिहारमा विशेष रूपमा मादल, मुरली, सारंगी जस्ता परम्परागत बाजा बजाएर मनोरञ्जन लिने परम्परा छ। त्यसैले तिहारका बेला मादलको माग प्रायः बढ्ने गर्छ।
तर पछिल्ला वर्षहरूमा परम्परागत नेपाली बाजाको प्रयोग घट्दै जाँदा मादल बनाउने पेसा संकटमा परेको छ। मादल व्यवसायीहरूका अनुसार आधुनिक संगीत र प्रविधिको प्रभावले युवापुस्ताको आकर्षण घट्दै जाँदा मादलको बजार सुस्त बन्दै गएको छ।
बागलुङको गल्कोटबाट गुल्मीको तम्घासमा वर्षौँदेखि मादल बनाउँदै आएका रामु नेपाली भन्छन् — “पहिले तिहार आउनु केही महिना अघि नै नयाँ मादल बनाउन अर्डर आउँथ्यो, पुराना मादल मर्मत गर्न पनि भीड लाग्थ्यो। तर अहिले बजार नै छैन। बनाएका मादल पनि बिक्री नभएर घरमै थन्किएका छन्।”
मादलजस्ता परम्परागत बाजाप्रतिको चासो घट्दै गएसँगै नेपाली सांस्कृतिक पहिचानका माध्यमहरू बिस्तारै ओझेलमा पर्न सक्ने चिन्ता पनि देखिएको छ।








