समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन गराउने वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
निर्वाचन आयोगले बिहीबार दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेको तर सरकारले आवश्यक तयारी नगरेको बताए।
उनका अनुसार, सरकारले राजनीतिक दलहरूलाई विश्वासको वातावरणमा ल्याउन प्रयास गरेको छैन। बरु, सरकारले दलहरूविरुद्ध प्रतिशोध र बदला लिने गतिविधि अगाडि बढाएको आरोप पनि उनले लगाए।
गुरुङले भने, “निर्वाचन त हुनुपर्छ र हामी त्यसमा सहभागी पनि हुनेछौं, तर सरकारले निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन गर्न सक्छ कि सक्दैन भन्नेमा शंका छ।” उनले सरकारले शान्ति सुरक्षा कायम गरी निष्पक्ष निर्वाचन गराउनुपर्ने वातावरण बनाउन आग्रह गरे।








