समाचार सुन्नुहोस :
काठमाडौँ – मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी छोडेका छन्। मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका सिंहले बुधबार जनमत पार्टी फुटेर बनेको नयाँ दल ‘जनस्वराज पार्टी’ रोजेका हुन्। यस विषयमा जानकारी दिन उनले जनकपुरमा पत्रकार सम्मेलन गरिरहेका छन्।
जनमत पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका सिंहले राजीनामा दिएपछि लोसपाका नेता जितेन्द्र सोनल मधेसका नयाँ मुख्यमन्त्री भइसकेका छन्। सिंहसहित जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेको घोषणा गरेका छन्। तीमध्ये एक जना पूर्वमन्त्रीसमेत रहेका सांसद त्रिभुवन साह हुन्।
सिंह र साह दुवैले नयाँ दल रोजे पनि आफ्नो समर्थन जितेन्द्र सोनल नेतृत्वको सरकारलाई नै रहने बताएका छन्। सिंहले भने, ‘हिजो म र त्रिभुवन साहजीले जनस्वराज पार्टी रोज्यौं, तर हाम्रो समर्थन सोनलजीकै सरकारलाई रहनेछ।’








