टोकियो – टोकियो जिल्ला अदालतले गत अक्टोबरमा शिम्बाशीस्थित एउटा ‘गर्ल्स बार’की १८ वर्षीया कर्मचारीको हत्या गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई १९ वर्षको जेल सजाय सुनाएको छ । ‘गर्ल्स बार’मा युवतीहरूले पेय पदार्थहरू पस्किने गर्छन् ।
अभियोजन पक्षले २० वर्षको जेल सजायको माग गरेको थियो भने प्रतिरक्षा पक्षले अपराधलाई ‘आवेगपूर्ण’ भन्दै १० वर्षको सजायको लागि आह्वान गरेको थियो । गुनमा प्रान्तको शिबुकावा शहरका हिरोयुकी चिगिरालाई फैसला सुनाउँदै पीठासीन न्यायाधीश यासुफुमी फुकुयाले भने, ‘प्रतिवादीले घटनाको अघिल्लो दिन चक्कुमा एन्टी-स्लिप टेप बेरेका थिए, त्यसैले यसलाई क्षणिक भावनाले गरिएको आवेगपूर्ण अपराध भन्न सकिँदैन ।’
फैसलाअनुसार, चिगिराले सन् २०२४ अक्टोबर २७ मा बिहान ५:४० बजेतिर महिला कर्मचारी युना तानिसावाको घाँटीमा चक्कु प्रहार गरेका थिए । बारका प्रबन्धकले प्रहरी नपुगेसम्म उनलाई नियन्त्रणमा राखेका थिए । तानिसावालाई चक्कु हान्नुअघि चिगिरा करिब छ घण्टासम्म बारमा एक्लै बसेर रक्सी पिएका थिए ।
सञ्चारमाध्यमका रिपोर्टअनुसार, तानिसावा र चिगिराको भेट सन् २०२४ जुनमा एउटा डेटिङ एपमार्फत भएको थियो । तर, तानिसावाले अक्टोबरको सुरुमा टोकियो प्रहरीलाई आफूसँग डेट गरिरहेका पुरुषले पैसा चोरेको भन्दै परामर्श लिएकी थिइन् ।








