काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर फेला परेको छ । बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली छन् । पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल लगिएको थियो ।
एसपी बोहराका अनुसार मृतकको शव पहिचान गर्न नसकिने अवस्थामा थियो । नजिकै सिम समेत फेला परेको थियो । उक्त सिम हेर्दा विकास रसाइलीको रहेको खुलेको हो । त्यस्तै मृतकका परिवारले पनि विकास हराइरहेको जानकारी प्रहरीलाई गराएका थिए ।
यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ वटा शवका अस्थिपञ्जिर फेला परेका थिए । योसँगै मृतकको संख्या ७४ पुगेको छ ।








