काठमाडौं – ‘हामी नेपाल’ अभियानका संयोजक तथा जेनजीका नेता सुदन गुरुङमाथि काठमाडौंमा आक्रमणको प्रयास भएको छ । अज्ञात समूहले मोटरसाइकल र गाडी प्रयोग गरी उनलाई रानीबारीदेखि बानेश्वरसम्म लखेटेको उनले बताएका छन् ।
गुरुङका अनुसार, रानीबारीबाट पल्सर मोटरसाइकलमा सवार केही व्यक्तिले उनको पिछा गर्न थालेका थिए । ‘रानीबारीबाटै मोटरसाइकलमा आएका मान्छेहरूले पच्छ्याउन थालेका थिए,’ गुरुङले भने, ‘बीच बाटोमा दुई वटा गाडी पनि थपिएर मलाई लखेट्न थाले । सिनामंगलका गल्लीगल्लीमा समेत मलाई खोजिरहेका थिए रे, बानेश्वरसम्मै लखेटे ।’
घटनाक्रमले आफूलाई अत्यन्तै त्रसित बनाएको बताउँदै गुरुङले आक्रमणकारीहरूको मनसाय ज्यान लिने नै रहेको जिकिर गरे । ‘ती को हुन् भन्नेचाहिँ थाहा भएन तर मार्ने उद्देश्यले नै आएका जस्ता देखिन्थे,’ उनले थपे ।
घटनालगत्तै आफू सुरक्षित स्थानमा पुगेको गुरुङले बताएका छन् । यद्यपि, सुरक्षा संवेदनशीलताका कारण उनले आफ्नो हालको अवस्थिति खुलाउन चाहेनन् । ‘म अहिले कहाँ छु भनेर भन्न चाहन्न, तर म सुरक्षित छु,’ उनले भने ।








