Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले जेन-जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र भौतिक संरचना तथा दस्ताबेज नष्ट हुनुमा वर्तमान सरकारको ‘अहंकार, नालायकी र कुशासन’ लाई जिम्मेवार ठहराएको छ । शुक्रबार उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाद्वारा जारी संयुक्त विज्ञप्तिमा आन्दोलनका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ ।

विज्ञप्तिमा जेन-जी पुस्ताको आन्दोलनलाई देशको भविष्यप्रतिको आकांक्षा, इमानदार सोच र परिवर्तनप्रतिको दृढ चाहनाको अभिव्यक्तिका रूपमा हेरिएको छ । यसलाई जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतका ऐतिहासिक आन्दोलनहरूको निरन्तरताका रूपमा पनि व्याख्या गरिएको छ ।

तर, माओवादी केन्द्रले आन्दोलनभित्र प्रतिगामी तत्वहरू प्रवेश गरी विध्वंस मच्चाएको र यसले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्ताबेज नष्ट हुन पुगेका छन् ।’

पार्टीले संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखिएका त्रुटिहरूको स्वीकारोक्ति र गम्भीर समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशिता र धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिहरूको संरक्षण गर्नु सबैको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले मुलुकलाई नयाँ जनादेशमा लैजानका लागि संघीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गर्नुलाई वैधानिक र उपयुक्त विधि मानेको छ । आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको उनीहरूको ठहर छ ।

नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु पर्ने, ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने र सुशासन कायम गर्दै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानुन बनाएर इमानदारीपूर्वक कार्यान्वयन गर्न सकेमा जेन-जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसाबले अगाडि बढ्नु श्रेयस्कर हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया