समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रचण्डले सरकारले सूचीकृत नभएका फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविपरीत भएको बताएका छन्।
उनका अनुसार सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध आएका आलोचनालाई दबाउन मुद्दा हाल्ने, आफ्ना पक्षलाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने कामलाई निरन्तरता दिइरहेको छ। “संविधानले सुनिश्चित गरेको अधिकारको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय आपत्तिजनक छ,” प्रचण्डले भनेका छन्।
उनले सरकारको कदम केवल संविधानविपरीत मात्र नभई अलोकतान्त्रिक र जनविरोधी भएको उल्लेख गरे। साथै, सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या गरेर सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानुन बनाउने नाममा सरकारले गलत बाटो अपनाएको टिप्पणी गरे।
प्रचण्डले विदेशमा रहेका श्रमिक र उनीहरूको परिवारसँग सम्पर्क राख्न सामाजिक सञ्जाल महत्त्वपूर्ण भएकाले यसलाई बन्द गर्दा अर्थतन्त्र र सामाजिक सम्बन्धमा गम्भीर असर पर्ने बताए। उनले आफ्नो पार्टी नियन्त्रण नभई उचित नियमनको पक्षमा रहेको स्पष्ट गर्दै, संसद्मा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत सञ्जाल बन्द गर्नु अस्वीकार्य भएको बताए।








