काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाज हाल चरम असन्तुष्टि, आक्रोश र निराशाको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । उनले समाजमा सल्किएको यही असन्तुष्टिको आगोमा केही शक्तिहरूले मट्टीतेल र पेट्रोल छर्केर थप भयावह बनाउने प्रयास गरिरहेको बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले नेपाली समाजभित्र जता हेर्यो त्यतै असन्तुष्टि छ, आगो बले जस्तो भएको छ । हामी जहाँ जान्छौँ, त्यहाँ रिस, आक्रोश र असन्तुष्टि देख्छौँ ।’
उनले समाजको यही संवेदनशील अवस्थामाथि राजनीतिक स्वार्थ पूरा गर्न खोजिएकोतर्फ संकेत गर्दै थपे, ‘त्यो असन्तुष्टिको आगोमा मट्टीतेल खन्याएको खन्याइ छ । पेट्रोल हालेका छन्, जेजे भेटेका छन्, हालेका छन् । दन्कनी बालिरहेका छन् । यो कसले र किन गरिरहेको छ, हामीले चिन्नुपर्छ ।’
महामन्त्री थापाले आगो सल्काउने तत्वहरूलाई प्रश्न गर्नु आवश्यक भए पनि उनीहरूलाई मात्र दोष दिएर समस्याको समाधान नहुनेमा जोड दिए । उनको भनाइ थियो, ‘असन्तुष्टिको आगोमा कसले मट्टीतेल खन्याएको छ, त्यसतर्फ मात्रै औँला ठड्याएर हुँदैन । त्यो आगो किन बलिरहेको छ, त्यसको कारण खोजेर निभाउनुपर्छ । यो हाम्रो जिम्मेवारी हो र नेपाली कांग्रेसले त्यो तागत राख्छ ।’








