टोकियो – जापानका शहरी यात्रुहरूले सन् २०२४ मा रेलको भीडभाडमा थप सास्ती भोग्नुपरेको छ । हालैको एक सरकारी तथ्यांकअनुसार, टोकियोको सबैभन्दा भीडभाड हुने रेल आफ्नो क्षमताभन्दा ७० प्रतिशतभन्दा बढी यात्रु बोक्न बाध्य भएको छ, जसले दैनिक यात्रालाई सकसपूर्ण बनाएको छ ।
भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले गरेको सर्वेक्षणले जापानका शहरी रेलहरूको कहालीलाग्दो अवस्थालाई उजागर गरेको हो । सर्वेक्षणअनुसार, टोकियोको अराकावा वार्डमा चल्ने निप्पोरी-तोनेरी लाइनमा बिहानको व्यस्त समयमा औसत भीडभाड दर १७७ प्रतिशत पुगेको छ, जुन देशकै सबैभन्दा उच्च हो ।
चालकरहित गुडवे ट्रान्जिट प्रणालीको यो लाइनमा, विशेषगरी बिहान ७:३० देखि ८:३० बजेको बीचमा, आकादो-शोगाक्कोमाए स्टेशनबाट निशी-निप्पोरी स्टेशनसम्मको खण्डमा अवस्था सबैभन्दा दयनीय देखिएको थियो । कूल ४ हजार ८ सय ८७ जनाको क्षमता भएको डिब्बाहरूमा ८ हजार ६ सय ६४ यात्रुहरू कोचिएका थिए, जुन क्षमताभन्दा ७७ प्रतिशतले बढी हो ।
टोकियोमा दोस्रो सबैभन्दा बढी भीडभाड हुने लाइनको रूपमा हिविया लाइन रहेको छ, जसको भीडभाड दर १६३ प्रतिशत छ । ताइतो वार्डको मिनोवा स्टेशनबाट इरिया स्टेशनसम्मको खण्डमा टोकियो मेट्रो प्रयोग गर्ने यात्रुहरूले यो सकस भोग्नुपरेको थियो । त्यस्तै, इताबासी स्टेशनबाट इकेबुकुरो स्टेशनसम्म चल्ने जेआर साइक्यो लाइनको भीडभाड दर पनि १६३ प्रतिशत नै रहेको पाइएको छ, जुन इस्ट जापान रेलवे कम्पनीद्वारा सञ्चालित टोकियोका रेलहरूमध्ये सबैभन्दा बढी हो ।
कस्तो हुन्छ भीडको अनुभव ?
सर्वेक्षण प्रतिवेदनले भीडभाड दरको अनुभवलाई पनि स्पष्ट पारेको छ:-
-
१५० प्रतिशत: यात्रुहरूले एकअर्काको काँध नछोई उभिन सक्छन्, तर ढोका नजिकै केही भीडभाड महसुस हुन्छ ।
-
१८० प्रतिशत: काँधहरू एकआपसमा ठोक्किन्छन् र यात्रुहरूले केही दबाब महसुस गर्न सक्छन् । ढोका नजिकका यात्रुहरूलाई निकै असजिलो हुन्छ ।
यो वार्षिक सर्वेक्षणले जापानका तीन प्रमुख महानगरीय क्षेत्रहरू टोकियो, ओसाका र नागोयाको अवस्थालाई उजागर गरेको छ । मन्त्रालयले टोकियोको रेल नेटवर्कका ३१ खण्डमा यो सर्वेक्षण गरेको थियो । भीडभाड दरको गणना सन् २०२४ को अक्टोबर र नोभेम्बर महिनाको बिहानको व्यस्त समयको यात्रु संख्याको आधारमा गरिएको थियो ।








