Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – अध्यागमन विभागले अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश यात्रामा नरोकिने महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । विभागले अध्यागमन प्रक्रियामा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने घोषणा गर्दै दलालको प्रलोभनमा पर्ने वा नक्कली कागजात प्रयोग गर्नेहरूमाथि भने कडा कानूनी कारबाही गरिने चेतावनी दिएको छ ।

आइतबार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभागले सुधारको अभियान थालेको जानकारी दिए । उनले यस अभियानलाई सफल बनाउन यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह, सञ्चार माध्यम, विदेशस्थित कूटनीतिक नियोग र ट्राभल्स तथा मुद्रा सटही व्यवसायीसहित सात पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको बताए ।

‘कुनै पनि नेपाली नागरिकलाई शंकाकै भरमा विदेश जानबाट रोक्ने काम अब हुँदैन,’ महानिर्देशक तिवारीले भने, ‘तर, फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिने मात्र होइन, तत्कालै नेपाल प्रहरीमार्फत कानूनी कारबाहीको दायरामा ल्याइनेछ ।’

विभागले यात्रामा निस्कनुअघि यात्रु स्वयंलाई पनि जिम्मेवार बन्न आग्रह गरेको छ । वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा बस्ने स्थानको प्रमाण, आवश्यक डलर सटही र अन्य कागजात अनिवार्य रूपमा साथमा राख्न यात्रुहरूलाई अनुरोध गरिएको छ । साथै, दलाल वा बिचौलियाको प्रलोभनमा परेर अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा कसैले रकम मागेमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गर्नसमेत आग्रह गरिएको छ ।

त्यस्तै, विभागले वायुसेवा कम्पनीहरूलाई यात्रुलाई प्रस्थान समयभन्दा कम्तीमा एक घण्टाअघि अध्यागमनको ‘स्टेरिलाइज्ड एरिया’मा पठाउन, अत्यधिक ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा यात्रुलाई लिखित जवाफ दिन निर्देशन दिएको छ ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलाल-बिचौलियाबाट नागरिकलाई सचेत गराउन र ठगी गर्ने समूहविरुद्ध निगरानी बढाएर कारबाही अभियान चलाउन आग्रह गरिएको छ । वैदेशिक यात्रासम्बन्धी झुट्टा विवरण, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गरी जनचेतना फैलाउन सञ्चार माध्यमलाई समेत विभागले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया