समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पर्साबाट पक्राउ गरी काठमाडौँ ल्याउँदैछ। सेन्चुरीले साउन २७ गते गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा आफ्नी २७ वर्षीया पत्नी ललिता विकलाई हत्या गरेका थिए।
बुढानीलकण्ठ–२ बस्दै आएका उनले ‘घुम्न जाऊँ’ भनेर पत्नीलाई गेस्ट हाउसमा लगेर हत्या गरेका थिए। हत्या गरेको शव उनले बक्स पलङमुनि लुकाएर हिँडेका थिए। घटना लुकाउन उनले साउन २८ गते प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै निवेदन पनि दिएका थिए।
तर, साउन ३० गते राति गेस्ट हाउसमा शव फेला परेपछि उनी भागेर पर्सा पुगेका थिए। हाल उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै छ।








