काठमाडौं – सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रूपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ । घरपायक स्थानान्तरणका लागि लामिछानेले गरेको लामो प्रयास र गुनासोपछि शनिबार उनलाई काठमाडौं ल्याएर नख्खुमा राखिएको हो ।
लामिछानेले कारागार स्थानान्तरणका लागि गत जेठ १४ गते नै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए, जसलाई अदालतले जेठ १६ गते अनुमति दिएको थियो । सुरुमा डिल्लीबजार कारागार रोजेका उनले पछि साउन २८ मा पूरक निवेदन दिँदै नख्खु कारागार रोजेका थिए । तर, अदालतको अनुमतिपछि पनि सरुवा नभएपछि उनले राष्ट्रिय मानवअधिकार आयोगको टोलीसमक्ष गुनासो गरेका थिए । यो विषयले बिहीबार प्रतिनिधिसभाको कानुन समितिमा समेत प्रवेश पाएको थियो ।
यसैबीच, कारागार व्यवस्थापन विभागका नवनियुक्त महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन शुक्रबार लामिछानेलाई सार्ने निर्णय गरेका थिए । कैदीबन्दीले घरपायक सरुवा चाहेमा नियम पुर्याएर स्थानान्तरण गर्न सकिने कानुनी व्यवस्थाअनुसार उनलाई जहाजमार्फत काठमाडौं ल्याइएको हो । नख्खु कारागारका प्रशासक भीमराज निरौलाका अनुसार उनलाई सुरक्षाका कारण छुट्टै कोठामा राखिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले गत माघ १३ मा लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ मा उक्त आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गर्यो ।
लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा विचाराधीन छन् । कास्कीमा सम्पत्ति शुद्धीकरणको समेत अभियोग लागेका कारण उनको सांसद पद हाल निलम्बनमा छ ।








