काठमाडौं – विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापालाई संयुक्त राज्य अमेरिकाले निष्कासित (डिपोर्ट) गरेको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका थापाको आपराधिक पृष्ठभूमि र विवादास्पद गतिविधिका कारण उनलाई अमेरिकी सरकारले देश निकाला गरेको हो ।
पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा रहेका थापा साउन २२ गते राति एयर इन्डियाको उडानमार्फत काठमाडौँ आइपुगेका हुन् । अमेरिकाको पेन्सिलभेनियास्थित विमानस्थलमा गत मार्च ११ (२०२५) मा पक्राउ परेका उनलाई अमेरिकी ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने निर्णय सुनाएका थिए । सोहीअनुसार अमेरिकी सरकारको आदेशमा उनलाई निष्कासित गरिएको हो ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । यद्यपि, ब्युरोले आवश्यक जानकारीसहितको फारम भराएर उनलाई छाडिसकेको छ ।
को हुन् मोहन थापा ?
म्याग्दी जिल्ला पुर्ख्यौली घर भएका मोहन थापा रास्वपाका सभापति रवि लामिछानेका निकट सहयोगी मानिन्छन् । अमेरिकामा लामिछाने रहँदादेखि नै उनीहरुबीच निकट सम्बन्ध रहेको र रविकै जोडबलमा थापालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको बताइन्छ । थापाको आपराधिक पृष्ठभूमिबारे जानकार हुँदाहुँदै पनि लामिछानेले उनलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना हुँदै आएको थियो ।
थापाको अमेरिका बसाइ सुखद रहेन । उनी यसअघि नै नक्कली लाइसेन्स र परिचयपत्र बनाएको अभियोगमा दोषी ठहर भई जेल सजायसमेत भोगिसकेका व्यक्ति हुन् । यही कारण उनको ‘ग्रीनकार्ड’ समेत रद्द गरी अमेरिकाले निष्कासन गरेको हो । सन् २००१ देखि २००२ को बीचमा उनले मेरिल्याण्डको मोटर भेइकल एड्मिनिस्ट्रेसनका कर्मचारीसँग मिलेर सयौँ व्यक्तिलाई नक्कली परिचयपत्र र ड्राइभिङ लाइसेन्स बनाइदिएको गम्भीर आरोपमा उनी दोषी ठहर भएका थिए । यसबाहेक उनीविरुद्ध अमेरिकामा कर छली, लेनदेनमा धोकाधडी, कुटपिट लगायतका ५० भन्दा बढी मुद्दा चलेको र अधिकांशमा दोषी ठहर भएको तथ्यहरू सार्वजनिक भएका छन् ।
विवादास्पद गतिविधि
थापाले अमेरिकामा रहँदा नेपालका उच्च पदस्थ व्यक्तिहरुविरुद्ध अपमानजनक गतिविधि गरेको समेत खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका बेला थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुलाई कालो झण्डा र जुत्ताको माला देखाउन उर्दी जारी गरेका थिए ।
पार्टीभित्र पनि उनको भूमिका विवादास्पद रह्यो । अमेरिकामै रहँदा गम्भीर अपराधमा पक्राउ परेका उनी रवि लामिछानेका निकट र रास्वपालाई अमेरिकामा विस्तार गर्नेमध्येका एक मानिन्छन् । पृष्ठभूमि आपराधिक रहे पनि रविको जोडबलमा उनी पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन रविको कोर टिमका सदस्यले पैसा मागेको विवादमा उनको नाम पोलिएपछि उनलाई राजीनामा दिन दबाब बढेको थियो । पछि उनले केन्द्रीय सदस्यबाट राजीनामा गरेका थिए ।








