समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई हालै सम्पन्न आम चुनावमा विजय प्राप्त गरेकामा बधाई दिएका छन्। प्रधानमन्त्री कार्नीले ट्रम्पले आफुलाई बधाई दिएको जानकारी दिएका हुन्। कुराकानीका क्रममा दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएको बताइएको छ। साथै, क्यानडा र अमेरिका स्वतन्त्र तथा सार्वभौम राष्ट्रको हैसियतमा आपसी हितका मुद्दामा सहकार्य गर्ने विषयमा पनि छलफल भएको मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन्।
क्यानडामा सोमबार सम्पन्न आम चुनावमा कार्नीको नेतृत्वमा रहेको लिबरल पार्टी सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। पार्टीले बहुमतको लागि आवश्यक संख्या भन्दा तीन सिट कम प्राप्त गरे पनि विजयी बनेको छ। तर आफ्नो पार्टीको जित लगत्तै, कार्नीले ट्रम्पलाई निशाना बनाएका थिए। उनले भनेका थिए- ‘राष्ट्रपति ट्रम्प हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि आफ्नो प्रभुत्व स्थापित गर्न सकोस्, यो कहिल्यै हुनेछैन।’
यता ट्रम्पले क्यानडासँगको व्यापार सम्बन्धमा कडाइ अपनाउँदै आएका छन्। उनले व्यापार युद्धको चेतावनी दिनुका साथै क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने विचार समेत सार्वजनिकरूपमा राख्दै आएका छन्।