बितेको २०८१ साल नेपाली राजनीतिक र आर्थिक परिदृश्यका हिसाबले खासै सुखद त रहेन, तर निराशाजनक भन्ने आधार पनि देखिएन । अब २०८२ मा प्रवेश गरेका छौं, जहाँ विगतका सिकाइ र आगामी भविष्यप्रतिको भरोसाबीच हामी उभिएका छौं । प्रत्येक नयाँ वर्ष केवल पात्रोको पाना बदलिने मात्र होइन, सोच, दृष्टिकोण र कार्यशैली परिवर्तन गर्ने अवसर पनि हो ।
राजनीति स्थायित्व र नीतिगत स्पष्टता विना कुनै पनि विकास सम्भव छैन । विगतका वर्षहरूमा हामीले पटक-पटक सरकार फेरिने, नीति परिवर्तन हुने र जनताको विश्वास खस्कँदै गएको दृश्य देख्यौं । सत्तामा रहेका नेताहरूले स्थिरता र प्रगतिका दाबी गरे पनि वास्तविकतामा तिनको प्रभाव देखिनेगरी प्रकट भएन । विपक्षीहरूका ‘सबै कुरा विफल’ भनी लगाइने आरोपहरू पनि अत्युक्तिपूर्ण मात्र देखिए । मुख्यतः, गत वर्ष सरकार फेरि फेरबदल भयो । संसद्का दुई ठूला दलबीचको ‘असामान्य’ गठबन्धनले लोकतान्त्रिक अभ्यासलाई केही विचित्र बनाएको महसुस गरियो ।
प्रतिनिधि सभामा स्पष्ट बहुमतका साथ रहेको सरकारबाट आर्थिक मोर्चामा ठूला सुधारको अपेक्षा गरिए पनि ती अपेक्षा आंशिक रूपमा मात्र पूरा भए । विशेषगरी, अर्थतन्त्र सुधारमा केही सामान्य सुधारहरू भए तापनि तिनले तत्काल जनस्तरमा प्रभाव पार्न सकेनन् । राजनीतिक दृष्टिले वर्ष उति उत्साहजनक रहन सकेन । तर, चैत १५ को ‘तीनकुने घटनाक्रम’पछि प्रमुख नेताहरू गणतन्त्रको पक्षमा एकमतमा देखा परे । यसले जनतामाझ गणतन्त्रप्रतिको विश्वासमा बल दिएको देखिन्छ ।
२०८२ ले नेपाली राजनीतिमा उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सोच ल्याओस् भन्ने अपेक्षा छ । राजनीतिक दलहरूले सत्तामोहभन्दा माथि उठेर समृद्धिका लागि साझा एजेन्डा तय गर्न सक्नुपर्छ । नीति, नियत र नेतृत्व तीनै शुद्ध भए मात्र जनविश्वास फर्किन्छ ।
नेपालको अर्थतन्त्र पछिल्ला केही वर्षमा आन्तरिक तथा बाह्य कारणले गर्दा दबाबमा परेको छ । वैदेशिक रोजगारी, आयात-निर्भरता, र निर्यातमा कमजोरी अझै यथावत् छन् । अब हामीले ‘समृद्ध नेपाल’ भन्ने नारालाई व्यवहारमा उतार्न सक्ने खालका ठोस योजना र काम देखिनुपर्छ । विशेषगरी युवाहरूलाई स्वदेशमै सम्मानजनक रोजगारी दिने वातावरण सिर्जना गर्नु अत्यावश्यक छ ।
आज पनि हजारौँ युवा रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् । नयाँ वर्ष २०८२ ले यस्तो अवस्थाको अन्त्यतर्फ देशलाई डोऱ्याओस् -जहाँ नेपाली युवा आफ्नो स्वदेशमै अवसर खोजून्, सृजनशीलता मार्फत आत्मनिर्भर बनून् र स्वदेशमै सपना बुन्न सकून् । रोजगारी सिर्जनालाई अब सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा अभियान बनाउन जरुरी छ ।
नयाँ वर्ष कुनै चमत्कारी परिवर्तन ल्याउने समय होइन, यो परिवर्तनको सुरुवात गर्ने क्षण हो । हामी सबैले आफूबाट सुरु गरौं, नकारात्मकता होइन, सकारात्मक सोच बोऔं । अतः आलोचना मात्र होइन, समाधान पनि प्रस्तुत गरौं । आशा मात्र होइन, कार्यदक्षता देखाऔं । ०८२ हामी सबैका लागि प्रेरणाको वर्ष बनोस् -जहाँ नेपालले स्थायित्व, समृद्धि र सामाजिक न्यायको मार्गमा नयाँ कदम चालोस् । युवाले रोजगारीका लागि विदेश होइन, भविष्यका लागि आफ्नै देश रोजून् ।