टोकियो – जापानमा चामलको अभावका कारण महंगी बढेसंगै सहज उपलब्धता छैन, उपलब्ध भईहाले पनि सामान्य अवस्थाकोभन्दा दोब्बर र तेब्बर मूल्य तिर्नु परिरहेको अवस्था छ । ठीक यति नै बेला एभरी डे लाइफ फुड्स सप्लायर्स (Everyday Life Foods Suppliers) का प्रवर्द्धक केशव थापालाई भने आफ्ना थोक ग्राहकलाई चामल आपूर्ती (सप्लाई) गर्न भ्याई–नभ्याई छ । त्यो पनि आफ्नै ब्राण्डको जापानी चामल र होलसेलरका रुपमा । उनी भन्छन् – दक्षिण एशियाली मुलका थोक ब्यापारीहरु खासगरी भारतीय, बंगालीहरुको दबदबा भएको चामल बजारमा विक्रीवितरण र स्टकका हिसाबले अहिले आफ्नो कम्पनीको उपस्थिति स्थापित हुन सकेकोमा थापा गर्व गर्दछन् । उनी भन्छन् –‘अधिकतम चामल उपभोग गर्ने नेपाली, ओसार पसार गर्ने पनि नेपाली, खुद्रा पसल राखेर बिक्रीबितरण गर्ने पनि नेपाली भएता पनि उत्पादक तथा वितरकमा झण्डै ९३ प्रतिशत भारतीय भएझैं यता पनि त्यस्तो अवस्था चिर्नपर्ने कर्तव्यबाेधले आफ्नो कम्पनीको उपस्थिति बलियो बनाउँदै लैजाने हाम्रो लक्ष रहेको छ । जसअनुसार चामलको अभाव हुन नदिन अघिल्लो वर्ष कायम वार्षिक ४ सयदेखि ५ सय टन चामल विक्रि–वितरण क्षमतालाई बढाएर आगामी वर्षहरुमा जापानी चामल, बासमती चामल तथा अन्य चामल गरी १ हजारदेखि २ हजार टन क्षमता पुर्याउने र मुख्यरुपमा नेपाली उपभोक्ताहरुमा केन्द्रीत भारतीय तथा बंगलादेशी चामल ब्यापारीहरुको एकाधिपत्यलाई चिर्ने हाम्रो प्रयास रहने छ ।‘
गोरखा घर भएका थापा जापानमा चिरपरिचित व्यवसायी हुन् । चामल अभावको वर्तमान सन्दर्भमा उक्त कम्पनीका संस्थापक प्रवर्ध्दक थापाले चामलको विकल्पमा गजबको आइडिया अगाडि सारेका छन् । त्यो हो चामलजस्तै गहुँको दाना अर्थात कोमे च्युबु मुगी । जापानमा उत्पादित गहुँबाट बनेको यो चामल जस्तै दाना भएको गहुँ ‘हाकुबाकु‘ नामको जापानी कम्पनीले बजारमा ल्याएको हो । यसलाई नेपाली बजारमा बजारिकरण गर्ने आधिकारिक वितरकको अनुमति थापाको एभरीडे लाइफ फुड्स सप्लायर्स कम्पनीले लिएको हो ।
उक्त चामलको जस्तै दाना भएको गहुँको बारेमा संस्थापक प्रवर्द्धक थापा भन्छन् – ‘यो प्रडक्ट मूल्यका हिसाबले चामलभन्दा झण्डै ३० देखि ५० प्रतिशतसम्म सस्तोमा पाईन्छ भने पकाउँदा बढेर तेब्बर हुन्छ । स्वास्थ्यका लागि त झन ज्यादै राम्रो छ । खासगरी ४०, ४५ वर्ष भन्दा माथि उमेर भएकाहरुले चामलको सेतो भात खानुभन्दा यो खानु धेरै हितकर छ । यसैगरी सुगरका बिरामीहरुका लागि त झन यो संजीवनी बराबर नै हुने छ । यसमा चामल मिसाएर वा यो मात्रै पकाएर पनि खान सकिन्छ । दैनिक बिहान बेलुका भात नै खानुपर्ने बानी भएको हामी नेपालीहरुमा अन्यको तुलनामा युवा अवस्थामै सुगरका बिरामीहरु बढि देखिने गरेको पाईएको छ । त्यसैले हामीले अब खानपानको सँस्कारमा पनि थोरै परिवर्तन ल्याउनुपर्ने देखिन्छ । एकातिर चामलको अभावमा विकल्प हुने छ भने अर्कोतिर मूल्यका हिसाबले पनि सस्तो र सुलभ उपलब्ध हुने यो दैनिक उपभोग्य स्वास्थ्यकर उत्पादन नै किन प्रयोग गरेर नहेर्ने भन्ने आशयले हामीले नेपाली बजारका लागि आधिकारिक वितरकको जिम्मेवारी लिएका हौं । पुस्तौदेखि भात नै खाने बानी लागेका नेपालीलाई तुरुन्तै बानी पार्न नसकिएता पनि स्वास्थ्यवर्ध्दक भोजनकारुपमा बिस्तारै बानी पार्दै जानुपर्ने देखिन्छ ।‘
सन् २००४ को फेब्रुअरीमा भाषा विद्यार्थीकारुपमा जापान आएका थापाको जापान–संघर्षको नालीबेली पनि लामै छ । सुरुको २ वर्षे भाषा कोर्स नसकिदैं उनी सिधै जागीरे जीवनमा प्रवेश गर्दछन् । कमर्शमा स्नातक गरेका थापा मास्टर्स पढ्दा पढ्दै जापान हानिएका थिए । त्यतिबेलासम्म नेपालको स्नातक उत्तीर्णले पनि रोजगारी (वर्किङ) भिसा पाईन्छ भन्ने धेरैलाई थाहा थिएन । उनले काम गर्ने डिजाइन प्रिन्टिङ सम्बन्धि कम्पनीमा काम गर्दै जाँदा उनी ब्राञ्च म्यानेजर सम्मको जिम्मेवारीमा पुगेका थिए । त्यहाँ सिकेको सीप र कन्फिडेन्सलाई उपयोग गर्दै सन् २००९ को अप्रिलदेखि उनले आफै कम्पनी खोलेर डिजाइन र प्रिन्टिङ सम्बन्धि काम गर्न थाले । डिजाइन तथा प्रिन्टिङ सम्बन्धि काम गर्दै जाँदा उनले जापानमा खुलेका सयौं नेपाली तथा इण्डियन रेष्टुरेन्टहरुको मेन्यू, चिरासी (फ्लायर्स), साइनबोर्ड, भिजिटिङ कार्ड, पोइन्ट कार्ड, पोष्टर आदि बनाएको अनुभव बटुलेका छन् । लामो अनुभवका आधारमा थापा अगाडि भन्छन – ‘नेपालीहरु करोडौं लगानी गरेर रेष्टुरेन्ट व्यवसाय सुरु गर्नुहुन्छ, तर १ हप्ता अगाडि मात्र मेन्यू बनाउन आउनुहुन्छ, मेन्यू राम्रो बनाउनुपर्छ, व्यवसायको मेरुदण्ड भनेको मेन्यू हो भन्ने चेतना अझै हामी नेपालीहरुमा पर्याप्त छैन । ठूलो धनराशी लगानी गरेर व्यवसाय सुरु
गर्नुहुन्छ तर मेन्यूमा थोरै मात्र खर्च गर्न पनि ज्यादै गाह्रो मान्नुहुन्छ । अर्कोतिर खानाको फोटो खिचाउने सँस्कार अझै बसेको छैन, इन्टर्नेटमा खोजखन्तर गरेका फोटाले काम चलाउने प्रवृत्ति अझै देखिन्छ । यसो गर्नु सरासर गैरकानूनी हो, यसो गर्दा कुनै पनि बेला कानूनी झमेलामा पर्न सकिन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।‘
मेन्यू कस्तो हुनुपर्छ र मेन्यू बनाउँदा ध्यान दिनैपर्ने कुराहरुका बारेमा पनि थापाको आफ्नै मान्यता यस्तो छ – ‘यदि जापानीहरु लक्षित रेष्टुरेन्ट हो भने उनीहरु खाना खानका लागि मात्रै नभएर रेष्टुरेन्टभित्रको साजसज्जा, वातावरण र नयाँपन हेरेर, कुरा गरेर आनन्द लिन मन पराउँछन् । त्यसकारण मेन्यूमा राखिएका खानाको हरेक परिकारको बारेमा प्रष्ट बुझिनेगरी (सेचुमे) विवरण उल्लेख हुनुपर्दछ । कुन खानाको विशेषता के हो, कुन खानाले कुन जाति सम्प्रदाय वा भूगोललाई प्रतिनिधित्व गर्छ वा कुन खाना कुन समय विशेषमा खाईन्छ अर्थात घरमै पकाएर खान संभव छ कि छैन जस्ता जानकारी पनि दिन सके अझै राम्रो हौ । यसैगरी मेन्यूमा हेर्दै खाउँ खाउँ लाग्ने खानाको फोटो हुनु अनिवार्य छ । नेपालीपन झल्किनेगरी डिजाइन गरिनुका साथै संभव भएसम्म मेन्यू नेपाली कागजमै प्रिन्ट गर्न सके अझै राम्रो हुनसक्छ । आकर्षक साजसज्जा, सुमधुर नेपाली धुन, नेपालमै गएजस्तो भान पर्ने गराउन चट्ट नेपाली पोशाकमा सजिएका फुर्तिला स्टाफ, मिजासिलो व्यवहार भयो भने जापानी ग्राहकहरु लोभिन सक्छन् ।‘ जापानमा भएका नेपालीहरुद्वारा सञ्चालित नेपाली–इण्डियन रेष्टुरेन्टका मेन्यू बनाउने सन्दर्भमा समयसापेक्ष आमुल परिवर्तन ल्याउनुमा आफ्नो महत्वपूर्ण भूमिका रहेको थापाको दावी छ ।
जापानमा फुड सप्लायर्स, रियल स्टेट, स्टक मार्केट, मानव संशाधन लगायतका व्यवसायमा हात हालेका थापा मार्केटिङ र सेल्समा पनि उत्तिकै दखल राख्छन् । उनी भन्छन् – ‘नेपालीहरु जापानमा अन्य व्यवसायभन्दा अधिकाँश रेष्टुरेन्ट ब्यवसायमा आबद्ध हुनुको पछाडि जोखिम मोल्न सक्ने क्षमताको अभाव र अन्य व्यवसाय गर्ने कन्फिडेन्सको अभाव हो जस्तो लाग्छ । जापानका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधी तथा उच्च शिक्षा हासिल गरेका पनि नानकरीको रेष्टुरेन्ट विजनेश, आइटी एक्सपर्ट पनि नानकरीको रेष्टुरेन्ट विजनेश, जापानी पासपोर्ट लिएका र एइज्युकेन भएकाहरु पनि नानकरीको रेष्टुरेन्ट विजनेश अंगाल्ने गरेको यथार्थ हामीकहाँ जगजाहेर छ । त्यसैले के भन्न सकिन्छ भने नेपालीहरु नयाँ व्यवसायिक क्षेत्रको जोखिम लिन अझै तयार देखिदैनन् ।‘
जापानको नेपाली समुदायका व्यवसायिक गतिविधि र उनीहरुको अवस्था नजिकबाट नियाल्दै आएका थापा जापानमा नेपाली रेष्टुरेन्ट व्यवसायको वर्तमान स्थिति बारे यसो भन्छन् – ‘रेष्टुरेन्ट व्यवसायीहरुमा सीमितको अवस्था मात्र कन्फिडेन्सको लेभल बढेको र लोभलाग्दो सफलताको उचाई हासिल गर्दै गईरहेको देखिन्छ । उनीहरु सेफ जोनमा देखिन्छन् भने अधिकाँशको अवस्था निर्वाहमुखी मात्र रहेको देखिन्छ, उनीहरु अगाडि बढ्न पनि चुनौती देख्छन् र पछाडि सर्न पनि नसक्ने सेफल्याण्डिङ्को अवस्थामा छन् । यसैगरी कोरोनाको कहरपछि धेरैको अवस्था धाराशयी अर्थात डेञ्जर जोनमा पुगेको देखिन्छ । किनभने पछिल्लो समयमा जापानले ट्याक्स सिष्टममा कडा नीति अवलम्वन गरेकोले पनि उनीहरु थप संकटमा परेको हुनुपर्दछ ।‘
रेष्टुरेन्ट व्यवसाय गर्दा सबैभन्दा ध्यान दिनुपर्नेमा लोकेशन, खाना (प्रोडक्ट), ब्राण्डिङ, मार्केटिङ, सर्भिस मध्य पहिलो प्राथमिकतामा मार्केटिङ हुनुपर्छ भन्ने थापाको जिकिर छ । किनभने आफ्नो प्रोडक्ट वा सेवालाई प्रभावकारी बजारिकरण नगरी सेवाग्राही बढाउन संभव छैन ।
जापानले आफुलाई लोभ्याउनुको कारण बारे पुराना दिन खोतल्दै थापा अगाडि भन्छन् – ‘नेपालमा छँदा जतिबेला म पाटनको औद्योगिक क्षेत्रमा काम गर्थे त्यतिबेला नेपाल गएका जापानीहरु अक्कल–झुक्कल बाटामा भेटिन्थे, स–साना कुरामा पनि उनीहरु घरिघरि शिर झुकाएर आदरभाव प्रकट गर्दथे, उनीहरुले देखाएको नम्रता, आदरभाव र विनयशिलताले मलाई भित्रैसम्म छोयो । संसारकै दोस्रो–तेस्रो वैभवशाली र समृद्ध राष्ट्र जापानका नागरिक हामीजस्तो सानो तथा गरिव मुलुकका नागरिकसंग किन यसरी पटक पटक झुकेका होलान् जस्तो लाग्थ्यो । फलेको बृक्ष निहुरन्छ भनेझैं जापानको यो सँस्कृतिले नै मलाई लोभ्याएको हो, जसले गर्दा म जापान आएको हुँ ।‘
जापानले के सिकायो भन्ने जिज्ञासामा थापा अगाडि भन्छन् –‘जापानले धेरैथोक सिकायो, सबैभन्दा बढि त समयको महत्व र यसको पालना गर्न सिकायो, दैनिक जीवनमा परिष्कृत हुँदै जान सिकायो, जीवनमा सपना देख्न सिकायो भने आफुलाई तल राखेर अरुप्रति सँधै उच्च आदरभाव राख्न सिकायो, बिना काममा समय र पैसा मात्रै होइन कुनै पनि जिनिस खेर जान दिनुहुँदैन भन्ने सिकायो । जसले गर्दा जीवनमा अगाडि बढ्न धेरै मदत पुगेको छ ।‘
सन् २०१५ को अप्रिलमा नेपालमा गएको महाभूकम्पबाट पीडितहरुको राहत सहयोगका लागि थापाकै पहलमा जापानभरिकै सेभेन इलेवेन (कन्भिनियन्स) स्टोरहरुमा चन्दा बाकस राख्न संभव भएको थियो र जहाँ करिव १८ करोड रुपैंयाँभन्दा बढि रकम संकलन भएको थियो भने युनिक्लुबाट १ करोड २० लाखभन्दा बढि चन्दा रकम संकलन भएको थियो । जुन रकम नेपाली राजदूतावास मार्फत नेपाल पठाईएको थियो । जसका कारण थापाको नाम त्यतिबेला निकै चर्चामा थियो । कसैले नगरेको नयाँ नयाँ र चुनौतीपूर्ण काम गर्न रुचाउने स्वभावका थापाको अबको सपना भनेको स्टक मार्केटमा दबदबा हुनेगरी स्थापित हुने र १० हजारभन्दा बढि नेपालीलाई उद्यमी बनाउने रहेको छ । ***
(कुराकानीमा आधारित: प्रस्तोता – तिलक मल्ल)