काठमाडाैं – रसुवागढी र तातोपानी नाकामा अवस्थित दुई मितेरी पुल निर्माण गरिदिने चिनियाँ प्रस्ताव सरकारले स्वीकृत गरेको छ । अाज बसेको मन्त्रिपरिषद बैठकले रसुवागढी र ज्याङ्बु जोड्ने पुल तथा तातोपानीको खासा जोड्ने पुल बनाइदिने चिनियाँ प्रस्ताव अनुमोदन गरेको हो ।
दुवै पुल निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग चीनको रहने सूचना तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले जानकारी दिनुभयाे । एउटै खाेलामा हालिएकाे नाकाकाे मितेरी पुल चीन र नेपाली पक्षमा फरक-फरक किसिमको छ । चिनियाँ पक्षतर्फ पुल पक्की छ। नेपाली भूभागतर्फ फलामे बेलिब्रिजशैलीमा निर्माण गरिएको छ । चीनले सन् २०१२ मा रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाको मान्यता प्रदान गरेको थियो । २०७२ वैशाख १२ को भूकम्पका कारण तातोपानी नाका बन्द भएको थियो ।
२०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गरेको भन्दै भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । भूकम्पका कारण रसुवागढी नाका पनि ५ महिनासम्म बन्द हुन पुगेकाे थियाे । चीनसँगका नाका भूकम्पले भत्काएर आवात् जावत ठप्प भएको अवस्थामा भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । त्यसपछि नेपाल र चीन दुवै मुलुकले रसुवागढी नाका खोल्न तदारुकता देखाएका थिए । चीन सरकार तातोपानी नाका सञ्चालनमा ल्याउन तयार भएसँगै मितेरी पुलदेखि ७ किलोमिटर वर लार्चामा सुक्खा बन्दरगाह निर्माण कार्य भइरहेको छ ।








