काठमाडाैं – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतलीसडक, कमलादी, त्रिचन्द्र क्याम्पस हुँदै भृकुटीमण्डप नजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि फिर्ता नलिएसम्म देशव्यापी रुपमा जारी आन्दोलन नरोकिने बताउनुभयाे । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेताहरुले समृद्धिको नारा दिने ओली सरकारले पटकपटक मूल्यवृद्धिको भार थोपरिरहेको बताएका छन् । मूल्यवृद्धिको आन्दोलन पहिलो चरणको भएको बताउँदै विद्यार्थी नेताहरुले आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताए ।
यसअघि शनिबार साँझ नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले पनि इन्धनको मूल्यवृद्धिको विरोधमा राजधानीमा मसाल जुलुस निकालेको थियो । नेविसंघको विरोध प्रदर्शनका क्रममा रत्नपार्क आसपासका क्षेत्रमा केहीबेर यातायात अवरुद्ध भएको थियो। ओली सरकार बनिसकेपछि पेट्रोल, डिजल र मट्टितेलको मूल्य चार पटक बढिसकेको छ ।








