ओखलढुंगा – ओखलढुंगा-कटारी सडक खण्ड अन्र्तगत ठाँटीमा पहिरोले बाटो एक महिना देखि अवरुद्ध हुँदा ओखलढुंगा, सोलुखुम्बु तथा खोटाङमा खाद्यन्न, इन्धन तथा औषधी अभाव भएको छ ।
त्यसका साथै, सरकारले बीपी राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा समेत प्रतिबन्ध लगाएपछि खाद्यन्न, इन्धन लगायतका सामग्री ढुवानीमा समस्या भएको छ । कटारी सडक खण्ड अन्र्तगत ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा समेत स्थानीय जनप्रतिनिधिले चासो नदेखाएको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आरोप लगाउनुभयो ।
एक महिना देखि अवरुद्ध सडक खुलाउने प्रयासमा जनप्रतिनिधिहरु नलागेको र संसदमा त्यस विषयमा कुरा नउठाएको उहाँको गुनासो थियो । चुनाव सम्पन्न भएपछि आफ्नो निर्वाचन क्षेत्रका सबै वडाहरुको भ्रमण गर्ने क्रममा आज मानेभञ्ज्याङमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।








