धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताउनु भएको छ । आज कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, ‘म अन्तघार्तबाट मुक्त कांग्रेस बनाएर मात्रै बिश्राम लिन्छु ।’ साथै भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने समेत उहाँले बताउनु भएको छ ।
देउवाले कांग्रेसले अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमाएको बताउनुभयो । हारको मुख्य कारण अन्तरघात भएको भन्दै उहाँले उनीहरुलाई कारबाही गरिछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’
कृष्णप्रसाद भट्टराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने उहाँको दाबी छ । टिकट नपाउनासाथ पार्टीका उम्मेदवारलाई हराउन लाग्ने हो भने पार्टी अघि बढ्न नसक्ने उहाँको धारणा छ । उहाँले अगाडि भन्नुभयो, ‘अनुशासनहीन काम गरेर पार्टीलाई नै हराउनेलाई कुनै हालतमा माफ गर्न सकिँदैन । यो अपराध हो । यस्ता अपराधीलाई कारबाही गर्छु ।’ अघि भने, अन्याय भएको छ भने लड्ने आफ्नो ठाउँ छ । पार्टीलाई नै हराएर को बहादुर भएको छ ?’
कांग्रेस सभापति देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने टिप्पणी गर्नुभयो । ‘होइन भने पार्टी भंग गरिदिए हुन्छ । पार्टी चल्दैन’ उहाले भन्नुभयो । पार्टी सदस्य भएर पनि भोट नहाल्नेहरु अपराधी हुन् भन्दै देउवाले उनीहरुको सदस्यता खारेज गर्ने बताउनुभयो ।
गौरीफन्टा नाका जसरी पनि स्तरोन्नती गराउँछु
जिल्ला सम्मेलनमा बोल्दै देउवाले ओली सरकारले रोक्न खोजे पनि गौरीफन्टा नाकाको स्तरोन्नतीको काम आफुले जसरी पनि गराउने दावी गर्नुभयो । ‘म भारत जादा मोदी जीसंग सहमती गरेर आएको छु तर ओलीजीले देउवाले गरेको सहमती लागु नगर्ने भन्दै गौरीफन्टा नाकाको स्तरोन्नतीको काम रोकिदिए तर तपाईहरु नआत्तीनुस,’ देउवाले भन्नुभयो, ‘म जसरी पनि यो काम गराउछु ।’
उहाँले प्रधानमन्त्री ओली भारतलाई रिझाउन जि हजुरीमा लागेको आरोप लगाउदै ओली सरकार लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो । ‘राष्ट्रवादको नाम भजाएका ओली अहिले भारतलाई रिझाउन जी हजुरीमा व्यस्त छन्, यसलाई लम्पसारवाद भन्नेकी नभन्ने?’ देउवाले प्रश्न गर्नुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले गरका महत्वपुर्ण निर्णय उल्टाएको भन्दै ओली सरकारप्रति आक्रोस समेत पोख्नुभयो ।








