काठमाडौं- माओवादी जनसत्ताले गरेका निर्णय फिर्ता लिएर विपक्षीको विश्वास लिएका प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीभित्रैबाट राजीनामाको दबाबमा परेका छन् ।
मोहन वैद्य समूहले भट्टराई सरकारको एकमात्र ‘राम्रो काम’ भनेको जनसत्ताको निर्णयलाई मान्यता दिने निर्णय फिर्ता लिएपछि प्रधानमन्त्रीमाथि राजीनामाको दबाब परेको हो । विपक्षी कांग्रेस-एमालेलेसमेत राजीनामालाई प्राथमिकता नदिएकाबेला वैद्य समूहले सरकारबाट फिर्ताको आवाज चर्काएको छ ।
जनसत्ताको निर्णयलाई मान्यता दिने निर्णय मन्त्रिपरिषदबाट फिर्ता लिएलगत्तै सुरु भएको स्थायी समिति बैठकमा वैद्य समूहले प्रधानमन्त्री फिर्ता हुनुपर्ने माग एकोहोरो उठाएको छ । शुक्रबारको बैठकमा पनि वैद्य समूहले प्रधानमन्त्री हट्नुपर्ने माग दोहोर्यायो ।
माओवादी सचिव सीपी गजुरेल प्रधानमन्त्री फिर्ता हुनुपर्ने मागबारे शनिबारसम्म टुंगो लाग्ने बताउँछन् । ‘हाम्रो विचार समूहले प्रधानमन्त्री फिर्ता हुनुपर्छ भनिरहेको छ,’ बैठकपछि गजुरेलले भने, ‘विकल्पहरुबारे छलफल भइरहेका छन्, भोलि विकल्पबारे छलफल हुन्छ ।’
संस्थापन पक्षले भने राजीनामा विकल्प नहुने भन्दै भावी नेतृत्वबारे पहिल्यै स्पष्ट हुनुपर्ने तर्क गरेको छ । ‘राजीनामा राजनीतिक प्रचारवाजी हो,’ माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, ‘कसले नेतृत्व गर्ने छिनोफानो नभई राजनीतिक प्रचारवाजीलेमात्र हुँदैन ।’
राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका अध्यक्ष पुष्पकमल दाहाल भने प्रधानमन्त्रीको राजीनामाबारे मौन छन् । माओवादीले दाहाललाई नै पार्टीको ‘पोजिसन’ (भावी नेतृत्वबारे) स्पष्ट हुन सुझाव दिएको छ । ‘सहमतिको सरकारको कुरा त हामीले पहिल्यैदेखि गर्दै आएका छौं,’ दाहालपक्षीय नेता वर्षमान पुनले भने, ‘तर हाम्रो पोजिसन के हो, अरु पार्टीको पोजिसन के हो बुझ्न अध्यक्षलाई भनेका छौं ।’