काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट मुक्त गरी ‘विकास कूटनीति’ मा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै उनले दुई देशबीचको सहकार्यका लागि ८ वटा नवीन एजेन्डा अघि सारेका हुन् ।
पाँचदिने औपचारिक भ्रमणका क्रममा शनिबार नयाँदिल्ली पुगेका लामिछानेले आइतबार भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नविनलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्दैछन् । आफ्नो लेखमार्फत लामिछानेले कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्रको सट्टा लगानी, व्यापार र आर्थिक सहकार्यको ‘इन्जिन’ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले सीमा विवादलाई अतिराष्ट्रवादी नाराको विषय नबनाई ऐतिहासिक तथ्य र आपसी संवादका आधारमा टुंग्याउनुपर्ने स्पष्ट पारेका छन् ।
लामिछानेले नेपाल र भारतबीच आर्थिक क्रान्तिका लागि रक्सौल-काठमाडौं रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । त्यस्तै, पोखरा र लुम्बिनी विमानस्थलबाट भारतका प्रमुख सहरहरू (दिल्ली, मुम्बई, बेङ्गलुरु) मा सीधा हवाई उडान सुरु गर्नुपर्ने उनको प्रस्ताव छ ।
सूचना प्रविधिको विकासका लागि उनले ‘काठमाडौं-बेङ्गलुरु डिजिटल करिडोर’ को अवधारणा अघि सारेका छन् । यसका साथै, भारतको गुजरात मोडलबाट सिकेर नेपाल-भारत सीमा क्षेत्रमै संयुक्त रूपमा रासायनिक मल कारखाना स्थापना गर्न सकिने उनले औंल्याएका छन् । नेपालको जलविद्युत्लाई खण्डित रूपमा नभई भारतको एकीकृत ऊर्जा बजारसँग जोड्न पनि उनले सुझाएका छन् ।
लामिछानेले भारतका प्रतिष्ठित संस्थाहरू जस्तैः ‘आईआईटी’ र ‘एम्स’ का शाखाहरू नेपालमा विस्तार गरी शैक्षिक तथा स्वास्थ्य हब बनाउन आह्वान गरेका छन् । त्यस्तै, खेलकुद कूटनीतिलाई महत्त्व दिँदै भविष्यमा नेपाली खेलाडी र रंगशालालाई समेत भारतीय क्रिकेट लिग ‘आईपीएल’ सँग जोड्न सकिने सम्भावना उनले व्यक्त गरेका छन् ।
नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई ‘ब्यालेट बक्स क्रान्ति’ को संज्ञा दिँदै रास्वपा सभापति लामिछानेले नेपाली युवा पुस्ताले अब विगतका आशंका नभई सुशासन, विकास र साझा भविष्यमा आधारित राजनीति खोजेको स्पष्ट पारेका छन् ।








