टोकियो – जापानको पश्चिमी र पूर्वी क्षेत्रका प्रशान्त तटीय इलाकाहरूमा यस हप्ता शक्तिशाली समुद्री आँधी ‘जाङ्ग्मी’ले भीषण वर्षा र हुरीबतास ल्याउने मौसम विज्ञान विभागले चेतावनी दिएको छ । आँधीको जोखिमलाई मध्यनजर गर्दै विभिन्न एयरलाइन्सहरूले आफ्ना उडानहरू धमाधम रद्द गर्न थालेका छन् ।
जापान मौसम विज्ञान विभागका अनुसार, दक्षिण-पश्चिमी टापु क्युशुदेखि राजधानी टोकियोसमेत पर्ने कान्तो क्षेत्रसम्म बुधबारसम्म ‘चेतावनी स्तर’को भारी वर्षा हुने सम्भावना छ । विभागले तीव्र गतिको हावा, समुद्री छाल, पहिरो र नदीहरूमा आउन सक्ने बाढीप्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
आँधी सोमबार र मंगलबार जापानको दक्षिणी टापु ओकिनावा र आमामी क्षेत्रको नजिक पुग्ने प्रक्षेपण गरिएको छ । त्यसपछि यो पूर्वतर्फ मोडिएर बुधबारसम्म पश्चिमी र पूर्वी जापानतर्फ अघि बढ्नेछ। मुख्य भूमिमा प्रवेश गर्दा आँधी केही कमजोर हुन सक्ने भए तापनि यसको प्रभाव भने उल्लेख्य रहने मौसमविद्हरूको भनाइ छ ।
आँधीको अगाडि विकसित भएको मौसमी प्रणालीका कारण कतिपय क्षेत्रमा आँधी आउनुपूर्व नै वर्षा सुरु हुन सक्नेछ। वर्षा लामो समयसम्म जारी रहने भएकाले केही स्थानमा २०० देखि ३०० मिलिमिटरसम्म पानी पर्ने अनुमान गरिएको छ ।
खराब मौसमका कारण हवाई यातायातमा ठूलो असर परेको छ। जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले ओकिनावा र आसपासका क्षेत्रका लागि तय गरिएका आफ्ना उडानहरू रद्द गरेका छन् । यात्रुहरूलाई यात्रामा निस्कनुअघि पछिल्लो जानकारी लिन सूचित गरिएको छ ।
दिउँसोको तथ्याङ्कअनुसार, ‘जाङ्ग्मी’ ओकिनावाको दक्षिणबाट २० किलोमिटर प्रति घण्टाको गतिमा उत्तरतर्फ बढिरहेको छ । यसको केन्द्रमा वायुमण्डलीय चाप ९७५ हेक्टोपास्कल रहेको छ । आँधीको अधिकतम हावाको गति १०८ किलोमिटर प्रति घण्टा र झोक्का १६२ किलोमिटर प्रति घण्टासम्म पुगेको छ ।








