Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – टोकियोको मुटु मानिने सिबुया (Shibuya) वार्डले आफ्नो क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सोमबारदेखि कडा नियम लागू गरेको छ । अब सिबुयाका सडक, पार्क वा अन्य सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्ने जोकोहीले २,००० येन जरिवाना तिर्नुपर्नेछ ।

पछिल्लो समय सिबुयामा फोहोरको समस्या चुनौतीपूर्ण बन्दै गएपछि वार्डले गत वर्ष आफ्नो नियमावली संशोधन गरी यो प्रशासनिक दण्डको व्यवस्था गरेको हो । सोमबारदेखि यो नियम वार्डको सम्पूर्ण क्षेत्रमा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ ।

वार्डका अधिकारीहरूका अनुसार सिबुया र अन्य प्रमुख स्टेसन वरपरका व्यस्त क्षेत्रहरूमा सडकमै मदिरा सेवन गर्ने र जताततै फोहोर फाल्ने प्रवृत्ति बढेको छ । यसमा स्थानीयका साथै ठूलो सङ्ख्यामा आउने विदेशी पर्यटकहरूको समेत संलग्नता देखिएपछि जरिवाना गर्ने निर्णयमा प्रशासन पुगेको हो ।

नियम उल्लंघन गर्नेहरूलाई समात्न वार्डले करिब ५० जना विशेष गस्ती अधिकारीहरू परिचालन गरेको छ । जसमा नगरपालिकाका कर्मचारीहरू समेत सामेल छन् । यी अधिकारीहरूले मुख्यतया स्टेसन वरपरका क्षेत्रमा गस्ती गर्नेछन् र फोहोर फाल्दै गरेको भेटिएमा तत्कालै जरिवाना काट्नेछन् ।

नियम मिच्नेहरूलाई घटनास्थलमै नगद भुक्तानी गर्न आग्रह गरिनेछ। नगद नहुनेहरूका लागि क्रेडिट कार्ड वा क्युआर कोडमार्फत पनि जरिवाना तिर्न सकिने आधुनिक व्यवस्था मिलाइएको छ । सिबुया वार्डका एक अधिकारीले भने, ‘केवल नैतिकता र राम्रो आचरणका लागि गरिएको आग्रहले मात्रै फोहोर न्यूनीकरण हुन सकेन, त्यसैले हामीले यो बाध्यात्मक दण्ड प्रणाली सुरु गरेका हौँ।’

यसअघि गत अप्रिलदेखि वार्डले ‘टेक-आउट’ (पसल बाहिर लगेर खाइने) खानेकुरा र पेय पदार्थ बेच्ने कन्भिनियन्स स्टोर, क्याफे र अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई आफ्ना ग्राहकका लागि अनिवार्य रूपमा फोहोर फाल्ने बाकस राख्नुपर्ने नियम समेत लागू गरिसकेको छ ।

तपाईको प्रतिक्रिया