टोकियो – जापानी मुद्रा ‘येन’ को तीव्र अवमूल्यन रोक्न जापान सरकारले पछिल्लो एक महिनामा ११.७३ खर्ब येन खर्च गरेको छ । जापानी अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, विदेशी मुद्रा बजारमा येनलाई थाम्न गरिएको यो अहिलेसम्मकै ठूलो हस्तक्षेप हो ।
मध्यपूर्वमा जारी द्वन्द्व र इरान युद्धका कारण विश्व बजारमा डलर बलियो बन्दै जाँदा येन ऐतिहासिक रूपमा कमजोर बनेपछि टोकियोले यो कदम चालेको हो । अर्थ मन्त्रालयको यो प्रतिवेदनले पछिल्लो समय येनको मूल्य जोगाउन सरकारले गरेका प्रयासहरूको पहिलो आधिकारिक पुष्टि गरेको छ ।
यसपटक खर्च गरिएको रकम सन् २०२४ को अप्रिल र मे महिनामा गरिएको ९.७९ खर्ब येनको अघिल्लो मासिक रेकर्डभन्दा उल्लेख्य रूपमा बढी हो । मन्त्रालयले अप्रिल २८ देखि गत बुधबारसम्मको तथ्याङ्क सार्वजनिक गरे तापनि दैनिक रूपमा कति रकम खर्च गरियो भन्ने विस्तृत विवरण भने खुलाएको छैन ।
गत अप्रिल ३० मा जब येन प्रति डलर १६० को गम्भीर विन्दु पार गरी पुनः १५५ को आसपास पुग्यो, तब नै बजारमा सरकारी हस्तक्षेपको प्रबल आशङ्का गरिएको थियो । त्यसपछि मे १, ४ र ६ तारिखमा जापानको ‘गोल्डेन विक’ बिदाको समयमा बजारमा कारोबार कम भएको मौका छोपी अधिकारीहरूले पटक-पटक येन खरिद गरी यसको मूल्यमा आकस्मिक सुधार ल्याएका थिए ।
सरकारी हस्तक्षेपका बाबजुद येनमा देखिएको सुधार भने दिगो हुन सकेको छैन । मे ६ मा प्रति डलर १५५ को तहसम्म पुगेको येन शुक्रबार पुनः कमजोर भई १५९ को आसपास कारोबार भएको छ । मध्यपूर्वको संकट अझै नसकिएका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा डलरतर्फ आकर्षित भइरहँदा येन जोगाउनु जापानका लागि फलामको चिउरा चपाउनु सरह भएको छ ।
प्राकृतिक स्रोतको अभावमा इन्धन र खाद्यान्नका लागि आयातमा पूर्णतः निर्भर जापानका लागि येन कमजोर हुनु निकै घातक मानिन्छ । येनको अवमूल्यनले आयातित वस्तुहरूको मूल्य बढाई उपभोक्ताहरूमा महँगी (मुद्रास्फीति) को भारी बोझ थपेको छ ।
हस्तक्षेपअघि अर्थमन्त्री सात्सुकी कातायामाले येनको अस्वभाविक गिरावट विरुद्ध ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिनुभएको थियो। त्यस्तै, प्रमुख मुद्रा कूटनीतिज्ञ अत्सुशी मिमुराले बजारमा हुने ‘सट्टाबाजी’विरुद्ध कडा रवैया अपनाउने सङ्केत गर्नुभएको थियो ।
जापानले यसअघि जुलाई २०२४ मा येन जोगाउन ५.५३ खर्ब येन खर्च गरेको थियो । अहिलेको यो विशाल खर्चले जापान सरकार येनलाई थप खस्कन नदिन जुनसुकै मूल्य चुकाउन तयार रहेको सन्देश विश्व बजारलाई दिएको छ ।








