काठमाडौं – नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) इतिहासमा नयाँ अध्याय लेख्दै नेपाली फाइटर रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी सिजन-५’ मा ऐतिहासिक सफलता हासिल गरेका छन् । मकाउमा जारी प्रतिष्ठित प्रतियोगिताअन्तर्गत बिहीबार भएको बान्टमवेट क्वार्टरफाइनल भिडन्तमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोनजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
यो जितसँगै रविन्द्र ‘रोड टु यूएफसी’ मा सेमिफाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन् । एशियाका उत्कृष्ट उदीयमान फाइटरहरू सहभागी हुने यस प्रतियोगितालाई यूएफसी प्रवेशद्वारका रूपमा हेरिन्छ । त्यसैले रविन्द्रको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली एमएमएका लागि ऐतिहासिक क्षण बनेको छ ।
मकाउस्थित ग्यालेक्सी एरिनामा भएको प्रतिस्पर्धामा रविन्द्र सुरुदेखि नै आक्रामक देखिएका थिए । उत्कृष्ट स्ट्राइकिङ, गतिशील फुटवर्क र टेकडाउन डिफेन्समार्फत उनले फिलिपिनो प्रतिद्वन्द्वीमाथि दबाब कायम राखे । अनुभव र आत्मविश्वासले भरिएको प्रदर्शन गर्दै उनले निर्णायक रूपमा जित हात पारेका हुन् ।
रोड टु यूएफसी सिजन-५ रविन्द्रका लागि पहिलो सहभागिता हो । प्रारम्भमा उनले अस्ट्रेलियाका म्याट्टी आयानसँग खेल्ने तालिका थियो । तर, आयान चोटका कारण बाहिरिएपछि फिलिपिन्सका किम्बर्ट अलिन्टोनजोन प्रतिस्थापन खेलाडीका रूपमा आएका थिए । अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन भए पनि रविन्द्रले आफ्नो तयारी र लयलाई कायम राख्दै शानदार प्रदर्शन गरे ।
बझाङको विकट गाउँबाट संघर्ष सुरु गरेका रविन्द्र अहिले अन्तर्राष्ट्रिय एमएमए रंगमञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । सामान्य परिवारबाट आएका उनले भारतमा मजदुरी गर्दै जीवन बिताएको कठिन समय पार गरेर एमएमए यात्रालाई निरन्तरता दिएका थिए । त्यही संघर्षले आज उनलाई यूएफसीको ढोकासम्म पुर्याएको छ ।
२७ वर्षीय रविन्द्रले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरिसकेका छन् । उनले ‘म्याट्रिक्स फाइट नाइट’ मा उपाधि जित्दै नेपाली एमएमएलाई नयाँ उचाइमा पुर्याएका थिए । उनको आक्रामक शैली, शक्तिशाली स्ट्राइकिङ र अनुशासित प्रशिक्षणका कारण उनलाई नेपाली एमएमएको भविष्यका रूपमा हेरिन्छ ।








