टोकियो – जापानको बालबालिका तथा परिवार एजेन्सीले गरेको एक ऐतिहासिक सर्वेक्षणले मुलुकका चिकित्सा संस्थाहरूभित्र हुने यौन दुर्व्यवहारको भयावह तस्बिर सार्वजनिक गरेको छ । पहिलोपटक गरिएको यस्तो राष्ट्रिय स्तरको अध्ययनले करिब १५.५ प्रतिशत स्वास्थ्य संस्थाहरूमा अनुपयुक्त शारीरिक सम्पर्क वा टिप्पणीसहितका यौनजन्य घटनाहरू भएको फेला पारेको हो ।
एजेन्सीले देशभरका ५,००० अस्पताल र क्लिनिकहरूमा प्रश्नावली पठाएको थियो, जसमध्ये १,११३ संस्थाहरूले वैध प्रतिक्रिया दिएका थिए। चिकित्साकर्मी र बिरामीबीचको सम्बन्धमा केन्द्रित भएर जवाफ दिने ९०३ संस्थाहरूमध्ये १४० वटाले आफ्ना कर्मचारी र बिरामीबीच यौनजन्य दुर्व्यवहारका घटनाहरू भएको स्वीकार गरेका छन् । यीमध्ये ३६ वटा संस्थाले कम्तीमा एउटा घटना ‘यौन आक्रमण’कै स्तरको भएको पुष्टि गरेका छन् ।
दुर्व्यवहारमा परेकाहरूमध्ये १०.१ प्रतिशत ६ देखि १८ वर्षका बालबालिका तथा किशोरकिशोरी रहेका छन् । सबैभन्दा ठूलो समूह १९ देखि ३० वर्ष उमेरका (४२.२ प्रतिशत) पीडितहरूको रहेको छ । गम्भीर यौन आक्रमणको हकमा, १३ देखि १८ वर्ष उमेरका ३.३ प्रतिशत र १९ देखि ३० वर्ष उमेरका ६६.७ प्रतिशत पीडित रहेको तथ्याङ्कले देखाएको छ ।
अनुसन्धानका क्रममा एउटा विभत्स घटना बाहिर आएको छ, जसमा एक पुरुष मनोचिकित्सकले उपचारको बहानामा विद्यालय तहकी एक छात्रालाई अस्पताल बाहिर लगेर यौन शोषण गरेका थिए । प्रतिवेदनअनुसार, अधिकांश पुष्टी भएका घटनाहरू अस्पतालको निगरानी कम हुने वार्डहरू, कम दृश्यता हुने स्थानहरू वा अस्पताल परिसरभन्दा बाहिर घटेका छन् ।
यो सर्वेक्षण जापानमा लागू हुन लागेको ‘डिस्क्लोजर एन्ड बारिङ सर्भिस’ (DBS) प्रणालीको बहसका बीच गरिएको हो । यो प्रणालीले बालबालिकासँग काम गर्ने व्यक्तिहरूको यौन अपराधको रेकर्ड भए/नभएको जाँच गर्दछ । आगामी डिसेम्बर २५ देखि ‘बाल यौन हिंसा रोकथाम ऐन’ लागू हुँदैछ, तर हालको प्रावधानमा चिकित्सा संस्थाहरूलाई यस्तो अनिवार्य पृष्ठभूमि जाँचबाट बाहिर राखिएको छ, जसलाई लिएर विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
बालबालिका एजेन्सीका एक अधिकारीले भने, ‘कतिपय बालबालिकाहरू आफू पीडित भएको कुरा व्यक्त गर्न वा चिन्न समेत सक्दैनन् । बिरामीको हेरचाह गर्ने विश्वास पाएका व्यक्तिहरूबाट यस्तो कार्य हुनु कदापि स्वीकार्य छैन । हामी स्वास्थ्य मन्त्रालय र चिकित्सा क्षेत्रसँग मिलेर उचित कदम चाल्नेछौँ ।’








