टोकियो – जापान सरकारको सार्वजनिक ऋणले नयाँ कीर्तिमान कायम गरेको छ । जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, मार्च महिनाको अन्त्यसम्ममा जापानको कूल ऋण १३४३.८४ ट्रिलियन येन पुगेको छ ।
यो सरकारी ऋणपत्र, कर्जा र अल्पकालीन सरकारी धितोपत्रहरूको एकीकृत योगफल हो, जसलाई सामान्य भाषामा ‘देशको ऋण’ भनिन्छ । तथ्याङ्क अनुसार, सन् २०२३ को अन्त्यको तुलनामा मात्रै ऋणको मात्रा १.६७ ट्रिलियन येनले बढेको छ । जापान सरकारको वार्षिक खर्चलाई आन्तरिक कर राजस्वले धान्न नसक्दा विगत लामो समयदेखि सरकारले ऋणपत्र जारी गरेर वित्तीय सन्तुलन मिलाउँदै आएको छ । सरकारी खर्च र आम्दानीबीचको बढ्दो खाडलका कारण ऋणको भार हरेक वर्ष चुलिँदै गएको अर्थविद्हरूको विश्लेषण छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अप्रिल १ सम्मको अनुमानित जनसंख्या (१२ करोड २८ लाख ६० हजार) लाई आधार मानेर गणना गर्दा, अहिले प्रत्येक जापानी नागरिकको भागमा औसत १ करोड ९ लाख ४० हजार येन बराबरको ऋण पर्न आउँछ ।
जापानको अर्थव्यवस्था विकसित मुलुकहरूमध्ये सबैभन्दा बढी ऋण भएको मध्येमा पर्दछ । बढ्दो सामाजिक सुरक्षा खर्च, रक्षा बजेटमा गरिएको वृद्धि र घट्दो जनसंख्याका कारण राजस्व संकलनमा पर्ने चापले गर्दा निकट भविष्यमै यो ऋण घट्ने सम्भावना न्यून देखिन्छ । सरकारले वित्तीय अनुशासन कायम गर्ने बताउँदै आए पनि ऋणको यो ग्राफले जापानी अर्थतन्त्रका लागि ठूलो चुनौती खडा गरेको छ ।








