
टोकियो – न्युजिल्यान्डको नागरिकता लिन चाहने आप्रवासीहरूले सन् २०२७ देखि सरकार, मानवअधिकारलगायत विषय समेटिएको परीक्षा पास गर्नुपर्ने भएको छ । आन्तरिक मामिलामन्त्री ब्रुक भान भेल्डेनले बुधबार यस्तो जानकारी दिएकी हुन् ।
मन्त्रीका अनुसार परीक्षा प्रत्यक्ष रूपमा उपस्थित भएर दिनुपर्नेछ । अंग्रेजी भाषामा हुने उक्त परीक्षामा २० वटा बहुविकल्पीय प्रश्न सोधिनेछ, जसमा पास हुन कम्तीमा १५ प्रश्नको सही उत्तर दिनुपर्नेछ ।
परीक्षामा बिल अफ राइट्स एक्ट, मानवअधिकार, केही आपराधिक कसुर, मतदान अधिकार, लोकतान्त्रिक सिद्धान्त, सरकारको संरचना तथा न्युजिल्यान्डमा आवतजावतसम्बन्धी विषय समेटिनेछन् ।
“नागरिकता लिन चाहने व्यक्तिहरूले न्युजिल्यान्डवासीहरू अभिव्यक्ति स्वतन्त्रता जस्ता निश्चित अधिकारमा विश्वास गर्छन् भन्ने कुरा बुझ्नुपर्छ । साथै, कुनै व्यक्ति वा समूह कानुनभन्दा माथि हुँदैन भन्ने पनि उनीहरूले जान्नुपर्छ,” आन्तरिक मामिलामन्त्री ब्रुक भान भेल्डेनले एक वक्तव्यमा भनिन् ।
उनका अनुसार, नागरिकता प्रदान गर्नुअघि आवेदकहरूलाई नागरिकका रूपमा प्राप्त हुने अधिकार, जिम्मेवारी र सुविधाबारे पर्याप्त ज्ञान छ कि छैन भन्ने सुनिश्चित गर्न यो परीक्षा लागू गर्न लागिएको हो ।
हाल न्युजिल्यान्डको नागरिकता आवेदन गर्ने व्यक्तिहरूले नागरिकका जिम्मेवारी र अधिकारहरू बुझिएको घोषणा-पत्रमा हस्ताक्षर गरे पुग्ने व्यवस्था छ ।
मन्त्री भान भेल्डेनका अनुसार परीक्षासम्बन्धी थप विवरण आन्तरिक मामिला विभागले तयार गरिरहेको छ । यो व्यवस्था सन् २०२७ को दोस्रो अर्धवार्षिक अवधिदेखि अनिवार्य रूपमा लागू हुने बताइएको छ ।








