टोकियो – मानिसको जीवनमा मानसिक स्वास्थ्य असाध्यै महत्वपूर्ण हुन्छ । हाम्रो खानपान, रहनसहन, पारिवारिक पृष्ठभूमि, संगत र शिक्षादिक्षा एवं परिवेशले मानसिक स्वास्थ्य स्थितिमा प्रभाव परेको हुन्छ । हरेक मानिसको बाल्यकालदेखिको स्कुलिङ, उसको बुझाई र चेतनाको स्तर र सोचाईको तह फरक फरक हुन सक्छ । र, सोहीअनुसार मानिसले धारणा बनाउने आफ्नो प्रतिक्रिया जनाउने गर्दछन् ।
उपलब्ध सुविधा र प्रविधिले मानिसहरु यान्त्रिक हुँदै गईरहेका छन्, दैनिक जीवनका अत्यधिक समय उनीहरुको ग्याजेट प्रयोगमा बित्ने गरेका तथ्यहरु अध्ययनले देखाउने गरेका छन् । मानवीय संवेदना र सम्बन्धभन्दा यान्त्रिक मोहको कब्जामा अहिलेको मानव समुदाय फसेको छ ।
अर्कोतिर विदेशमा रहँदै गर्दा भाषा आदिका कारण हाम्रा अनेकौ उकुसमुकुसहरु शियर गर्ने उपयुक्त पात्र र प्लेटफर्मको अभावमा आफैभित्र दबाएर राख्नुपर्ने बाध्यता छ । यस्ता व्यक्तिहरुले न त उपचारका लागि अस्पताल जाने हिम्मत गरेका हुन्छन् न त आफ्नो समस्या अरु कसैलाई सुनाउने साहस गर्न सकेका हुन्छन् । यसरी मनको पीडाहरु थुप्रिदै जाँदा मान्छे मानसिक रोगको शिकार बन्ने, एन्जाइटी बढ्ने, डिप्रेशन हुने, फ्रस्टेशन भएर जीवनदेखि विरक्त हुने गरेको जानकारहरु बताउँछन् । यो भन्दा अझै स्थिति खराव हुँदै गएमा उनीहरुमा आत्महत्या गर्ने सम्मको सोचको विकास हुने गरेको मनोरोग विशेषज्ञहरुले बताउने गरेका छन् ।
एक्लै बस्न रुचाउने, मानिसहरुसंग घुलमिल हुन नचाहने, अनुहारमा उदासिनता, खुलेर कुरा नगर्ने, निद्रा नलाग्ने, खाना नरुच्ने, चरम निराशा, मनमा भय र त्रास जस्ता लक्षण देखिएमा तुरुन्त मनोरोग विशेषज्ञसंग परामर्श गर्ने र उनीहरुको परामर्श अनुसार उपचार प्रक्रिया थाल्नुपर्ने जानकारहरुको सुझाव छ ।
जापानमा पछिल्ला समयमा नेपाली किशोर-किशोरीहरुको आत्महत्या दर बढेको छ । यो असाध्यै चिन्ताजनक विषय हो । यसबारेमा जनचेतनामुलक कार्यक्रमहरुको अति आवश्यकता छ । समस्याहरुको पहिचान, वर्गिकरण र समाधानका लागि संभावित प्रयासहरु थाल्न ढिला भईसकेको छ । यसतर्फ जिम्मेवार निकाय र संघसंस्थाहरुको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।








