न्युयोर्क – न्युयोर्कमा जारी परमाणु निशस्त्रीकरण सम्बन्धी एक उच्चस्तरीय सम्मेलनमा चीनले जापानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नुपर्ने माग राखेको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा सोमबारदेखि सुरु भएको ‘परमाणु अप्रसार सन्धि’को समीक्षा सम्मेलनका क्रममा चीनले जापानको सैन्य महत्त्वाकांक्षामाथि गम्भीर प्रश्न उठाएको हो ।
बुधबार चिनियाँ विदेश मन्त्रालयको ‘आर्म्स कन्ट्रोल’ (हतियार नियन्त्रण) विभागका प्रमुख सुन सियाओबोले जापानका कतिपय वरिष्ठ सरकारी अधिकारीहरूले सार्वजनिक रूपमै परमाणु हतियार राख्ने मनसाय व्यक्त गरिरहेको बताए । सुनले जापानले आफ्नो ‘शान्तिवादी संविधान’ संशोधन गर्न खोजेको र लामो समयदेखि अपनाउँदै आएको ‘तीन गैर-परमाणु सिद्धान्त’ (परमाणु हतियार नबनाउने, नराख्ने र भित्रिन नदिने) लाई पुनरावलोकन गर्न दबाब दिइरहेको दाबी गरे । जापानले परमाणु हतियार प्राप्त गरेमा क्षेत्रीय सुरक्षामा गम्भीर खलल पुग्ने भन्दै उनले यसलाई दृढताका साथ रोक्नुपर्नेमा जोड दिए ।
चिनियाँ दाबीको तत्काल खण्डन गर्दै निशस्त्रीकरण सम्मेलनका लागि जापानी राजदूत इचिकावा तोमिकोले जापान सरकार आफ्ना स्थापित तीन गैर-परमाणु सिद्धान्तहरूप्रति पूर्णतः प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘इतिहासमा परमाणु आक्रमणको विभीषिका खेप्ने एकमात्र राष्ट्रको हैसियतमा जापान परमाणु हतियारमुक्त विश्व निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न सधैँ तत्पर छ ।’
विवाद यतिमा मात्र सीमित रहेन। चीनले पुनः प्रतिवाद गर्दै जापानले नागरिक आवश्यकताभन्दा निकै बढी परिमाणमा ‘प्लुटोनियम’ भण्डारण गरेको आरोप लगायो, जसलाई हतियार बनाउन प्रयोग गर्न सकिन्छ । जापानी राजदूत इचिकावाले यसलाई पनि ठाडै अस्वीकार गर्दै जापानको परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण रहेको र परमाणु अप्रसारसँग सम्बन्धित कुनै पनि समस्या नरहेको स्पष्ट पारिन् ।








