टोकियो – नेपाली लोक संगीतको बजारमा नयाँ मौलिक लोक दोहोरी गीत ‘भाका सारेर’ सार्वजनिक भएको छ । गायिका मिना लामा र चर्चित गायक खेम सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत सार्वजनिक गरिएको हो ।
नेपाली लोक संगीत क्षेत्रका लोकप्रिय सर्जक नेत्र अर्यालको उत्कृष्ट शब्द रचना रहेको यस गीतलाई नन्दु परियारले लयवद्ध गरेका हुन् । गीतमा मौलिक नेपाली पन र मायाप्रेमका मिठा संवादहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा गायिका मिना लामा आफैँ र कलाकार सुरेश कोहोलीको प्रमुख भूमिका रहेको छ । उनीहरूको अभिनय र केमेस्ट्रीले भिडियोलाई थप जीवन्त बनाएको छ । ग्रामीण परिवेश, मौलिक वेशभूषा र आकर्षक नृत्य भिडियोका सबल पक्ष हुन् ।
भिडियोको कोरियोग्राफीमा मिना लामा र सुरेश कोहोलीले निकै मिहिनेत गरेका छन् । हिमाल, पहाड र प्राकृतिक सुन्दरतालाई कैद गरिएको यस भिडियोले दर्शकलाई गाउँले जीवनको झझल्को दिन्छ । एचबीएन किस्मतको रेकर्डिङ र मिक्सिङ रहेको गीतलाई ‘मिना लामा’कै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो ।
गायिका लामाले यसअघि पनि थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरू स्रोता/दर्शक माझ ल्याइसकेकी छिन् । यसपटकको ‘भाका सारेर’ले पनि नेपाली लोक संगीत प्रेमीहरूको मन जित्ने र बजारमा राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ । सार्वजनिक भएको छोटो समयमै भिडियोले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।








