टोकियो – जापानलाई कर्म थलो बनाउँदै आएका चर्चित गायक तथा सर्जक सूर्य खड्काको नयाँ गीत ‘मलाई नेपाल मन पर्छ’ (निप्पोन दाईसुकी, नेपारु दाईसुकी) सार्वजनिक भएको छ । गीत नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध र सांस्कृतिक आत्मीयतालाई संगीतको माध्यमबाट प्रगाढ बनाउने उद्देश्यका साथ सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गायक खड्का र जापानी गायिका कोउतो मारियाको सुमधुर स्वरमा सजिएको यो गीतले दुई देशबीचको कलात्मक दूरीलाई मेटाउने प्रयास गरेको छ । गायक सूर्य खड्काकै शब्द र संगीत रहेको गीतमा नेपालका प्राकृतिक सम्पदा र गौरवगाथाहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। विशेष गरी सगरमाथा नेपालमै रहेको र शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमै भएको भन्ने तथ्यलाई गीतका माध्यमबाट विश्वमाझ चिनाउने प्रयास गरिएको छ ।
गीतको भिडियोमा नेपाली र जापानी संस्कृतिलाई एकै थलोमा प्रस्तुत गरिएको छ । एकातिर नेपाली दौरा-सुरुवाल र गुन्यू-चोलोमा सजिएका कलाकारहरू देखिन्छन् भने अर्कोतिर जापानी परम्परागत पहिरन ‘किमोनो’ मा सजिएका मोडलहरूले दुवै देशको सांस्कृतिक विविधतालाई प्रतिविम्बित गरेका छन् । गीतमा नेपालको राष्ट्रिय फूल लालीगुराँस र जापानको प्रसिद्ध साकुरा फूलको चर्चा गर्दै नेपाली र जापानी नागरिकको मन उस्तै रहेको भाव व्यक्त गरिएको छ । यसले कला र संगीतको कुनै सीमा हुँदैन भन्ने सन्देश दिएको छ ।
अडभेन्चर इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियो निर्देशन जीवन ज्ञवालीले गरेका हुन् । भिडियोमा सूर्य खड्का र मारियाका साथै शितल सापकोटा, तृप्ती पौडेल, साकुरा बिवाहासी, मोमो ताकागी लगायतका नेपाली र जापानी कलाकारहरूको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ । जापानका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोले एकातिर जापानमा रहेका नेपालीहरूलाई स्वदेशको सम्झना दिलाउँछ भने अर्कोतिर जापानी नागरिकहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने देखिन्छ ।
गीतका सर्जक तथा गायक सूर्य खड्काले गीतलाई आफ्नो सानो प्रयासको रूपमा व्याख्या गरेका छन् । उनले भनेका छन्, ‘यो एउटा गीत मात्र नभएर जापान र नेपालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने मेरो प्रयास हो । नेपाललाई विश्वमाझ चिनाउन र बुद्ध तथा सगरमाथाको देश भनेर गर्वका साथ भन्नका लागि यो गीतले मद्दत पुर्याउनेछ भन्ने आशा लिएको छु ।’
बिनोद परियारको मिक्सिङ र मास्टरिङ रहेको यस गीतलाई ‘वानहार्ट स्टुडियो’ जापानमा रेकर्ड गरिएको हो। सार्वजनिक भएको छोटो समयमै यस गीतले सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । अन्तरदेशीय कला सहकार्यको उत्कृष्ट नमुना मानिएको यो गीतले नेपाली संगीत क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ ।








