Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

 टोकियो – गत भदौमा भएको जेन्जी विद्रोह र त्यसको जगमा भएको निर्वाचनबाट नेपाली राजनीतिले नयाँ कोर्स लिएको छ । जसअनुसार करिव दुईतिहाई बहुमतसहितको शक्तिशाली सरकारले राज्य सञ्चालनको बागडोर सम्हालेसंगै नेपाली जनतामा नयाँ आशाको सञ्चार भएको महशुस गर्न थालिएको छ । यसैबीच जापान लगायत विभिन्न मुलुकहरुमा रिक्त रहेको राजदूत नियुक्तिको विषय पनि चर्चामा छ । यस विषयमा जापानमा रहेका नेपालीहरुको पनि चासो र चिन्ता नहुने कुरै भएन । यसै सन्दर्भमा कूटनीतिक सेवामा करिव ३ दशकभन्दा लामो अनुभव बटुलेका परराष्ट्र मामिलाका जानकार पूर्व परराष्ट्र सचिव एवं परराष्ट्र मन्त्रालयका पूर्व प्रवक्ता, तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीका परराष्ट्र सल्लाहकार, जर्मनी तथा जापानका लागि पूर्व राजदूत डा. मदनकुमार भट्टराईसंग नेपालको परराष्ट्र नीति, राजदूत नियुक्ति प्रक्रियामा प्रचलित अभ्यास र सुधार्नुपर्ने पाटाहरु, जापानको लागि राजदूतमा हुनुपर्ने क्षमता, जापानमा आफु राजदूत हुँदाको अनुभव लगायतका समसामयिक विषयवस्तुमा आधारित रहेर नेपाली समाचारका लागि तिलक मल्लले गरेको भर्च्युअल कुराकानीको सम्पादित अंशः

नेपालको पछिल्लो विकसित राजनैतिक घटनाक्रमलाई यहाँले कसरी हेरिरहनु भएको छ ?
पछिल्लो विकसित घटनाक्रमबाट नेपालमा नसोचिएको आमुल परिवर्तन भएको छ । जसले गर्दा हामीले धेरै पहिलेदेखि नै सुन्दै आएको आमुल पुस्तान्तरण भएको छ भने संभवतः इतिहासमै पहिलोचोटी यतिधेरै पढेलेखेका जमात राजनीतिमा होमिएकोले गुणात्मक परिवर्तन भएको देखिएको छ । राजनीतिमा उदाएको अत्यन्त कम समय अर्थात ३ वर्षमै झण्डै दुईतिहाई बहुमतको नजिक पुगेको नयाँ शक्तिले अनुभवले खारिएका आधा शताब्दि पुराना दलहरुलाई किनाराकृत बनाईदिएको छ । यस्तो विशिष्ट परिस्थितिमा राज्य सञ्चालनको ऐतिहासिक जिम्मेवारी आला, काँचाहरुको हातमा गएको छ, अब के होला, कसो होला भन्ने एकप्रकारको सन्देह पनि जनमानसमा नभएको होईन । उसो त नेपालको सन् १९५१, १९६०, १९९० का परिवर्तन पश्चात पनि तात्कालिन समयका युवा पुस्ताको उत्साहजनक उपस्थिति नभएको होइन तर साढे तीन दशकसम्म लगभग आलोपालो गरी केवल राजनीतिक रुपमा जगडिएर सत्तामा लामो समय रहने र उनीहरुबाट आर्थिक, सामाजिक रुपान्तरणमा भएको कम उपलब्धिका कारण जनतामा ब्याप्त निराशा र असन्तुष्टिले गर्दा पछिल्लो परिवर्तनको पक्षमा जनलहर गएको देखिन्छ । तथापि कतिपय कुराहरु कामबाट देखिने हो, सकारात्मक कोणबाट हेर्दा नेपालमा नयाँ युगको शुरु भएको छ । आशा गरौं, नेपाली जनताको अपेक्षा र देशको आवश्यकता अनुसार मुलुक अगाडि बढ्ने छ ।

दर्जनौ मुलुकहरुमा रिक्त रहेको राजदूतहरु छनौट गर्ने क्रममा नयाँ सरकारको गृहकार्य सुरु भएको देखिन्छ, यस सम्बन्धमा यहाँको भनाई के छ ? 
राजदूत भनेको एक श्रेणीविहिन तह हो । शुरु-शुरुमा आवासीय राजदूतको प्रावधान थिएन । घुमन्ते राजदूतहरुबाटै काम चलाउने प्रचलन थियो । विगत शताब्दीदेखि आवासीय राजदूतको ब्यवस्था विश्वब्यापी प्रचलनमा आउनुका साथै अहिले संसारभरि नै विद्यमान प्रचलन के छ भने सरकार परिवर्तन भएलगत्तै सबै राजनीतिक नियुक्ति प्राप्त ब्यक्तिहरुले आफै राजीनामा गर्ने र सो नभए नयाँ सरकारले अघिल्लो सरकारले पठाएका राजदूतहरु फिर्ता बोलाउने र आफ्नो तजबिजअनुसार नयाँ नियुक्ति गर्ने भन्ने छ । पछिल्लो समयमा नेपालमा ५० प्रतिशत राजनैतिक नियुक्ति र ५० प्रतिशत व्यावसायिक कूटनीतिज्ञबाट नियुक्ति गर्ने भन्ने रहेको छ । मलाई लाग्छ यो बेकारको कुरो हो । राजदूत नियुक्ति सरकारको आफ्नो अधिकार क्षेत्रको विषय भएकोले गुण र उपयुक्तताको आधारमा नयाँ सरकारले उपयुक्त ब्यक्तिलाई राजदूत नियुक्ति गर्ने अपेक्षा गर्न सकिन्छ ।

जापानका लागि अब आउने नेपाली राजदूत कस्तो हुनुपर्ला ? तत्सम्बन्धमा सम्बन्धित देशमा बस्ने नेपालीको आवाज पनि सुनुवाई हुने व्यवस्था गर्न सकिने संभावना बारे के भन्नुहुन्छ ?
राजदूत नियुक्तिका सम्बन्धमा कहिलेकाँही के हुन्छ भने एउटा देशको चर्चा हुन्छ नियुक्ति अर्कै देशका लागि भईदिन्छ । अर्को तिर आकाँक्षीहरु धेरै हुँदा उनीहरुलाई व्यवस्थापन गर्न नयाँ राजदूतावास खोल्ने प्रचलन पनि छ । यी दुबै तरिका ठीक भएन । उपयुक्त मानिस उपयुक्त ठाउँमा हुनुपर्दछ । जापानका बारेमा जानकार राख्ने जापानका लागि राजदूत भएर काम गर्न सक्ने योग्य र खट्न सक्ने सक्रिय मान्छे पठाउनुपर्दछ । नेपाली समुदायमा घुलमिल हुन सक्ने, अपनत्व र अभिभावकत्व दिलाउन सक्ने ब्यक्ति उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ । नेपालका लागि जापान एक असल र महत्वपूर्ण मित्रराष्ट्र हो । वर्तमान सरकारले उपयुक्त ब्यक्तिलाई नै जापानका लागि राजदूत बनाउने छ । किनभने मित्रराष्ट्र जापानका लागि कस्तो ब्यक्ति पठाउँदा उपयुक्त हुन्छ भन्ने बारे अहिलेका सरकारमा रहनुभएका सबैजसो जानकार नै हुनुहुन्छ । यसैगरी जापानका नेपाली समुदायको मनोभावना पनि अहिलेको सरकार र सत्तासिन दल बेखबर छ जस्तो मलाई लाग्दैन ।

नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औं वर्षगांठ चलिरहेको सन्दर्भमा नेपालले यस अवसरलाई कसरी उपयोग गर्न सक्छ ?
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध र यसका आयामहरु निकै पुराना र फराकिला छन् । जापानले नेपाललाई पुर्‍याउँदै आएको खासगरी तीन प्रकारका सहयोगहरुमा अनुदान सहयोग, ऋण सहयोग र प्राविधिक सहयोग हुन् । अनुदान सहयोग र प्राविधिक सहयोगको दायरा साँगुरो हुने भएकोले फराकिलो दायरा रहेको ऋण सहयोग नेपालको राजनैतिक अस्थिरताको कारण देखाउँदै जापानले सन् २००१ देखि १२ वर्षसम्म स्थगन गरेको थियो, जुन सन् २०१३ देखि पुनः सुचारु भएको हो । जसअनुसार नागढुंगा सुरुङमार्ग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बिस्तार, तनहुँ हाइड्रो लगायतका मेगा प्रोजेक्टहरु सञ्चालन भएका हुन् । नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औं वर्षगांठका अवसरमा नेपालले परिवर्तित समय र सन्दर्भ अनुसार नयाँ नयाँ संभावनाहरुको खोजी गरी सहयोग आदान-प्रदानमा थप बिस्तार गर्न सक्दछ । जस्तै, नेपालमा उत्पादन हुने फापर, बेसार, अदुवा जस्ता कृषिजन्य उपजलाई व्यवसायीकरण गरी जापानको बजारमा पुर्‍याउन सकियो भने नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्नसक्छ । यस कार्यमा जापानमा रहेका नेपाली उद्यमी र जापानको निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने छ । मलाई के लाग्छ भने दुई देशबीचको सम्बन्धलाई पुनर्मुल्याङ्कन गरी खासगरी आर्थिक सहयोगको परिधिलाई थप फराकिलो बनाउने र प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने दिशामा नयाँ सरकारको ध्यान अवश्य जाने छ । ७० औं वर्षागांठको अवसरमा जापानमा रहनुभएका तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवम जापानी मित्रहरुमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु । हामी सबैको संयुक्त प्रयासबाट नेपाल र जापानबीचको सम्बन्धलाई अझ अगाडि बढाऔं ।

जापानमा नेपाली राजदूतावास स्थापनाको ऐतिहासिक पृष्ठभूमि र राजदूतहरुका बारेमा संक्षिप्त प्रकाश पारिदिनु हुन्छ कि ?
नेपाल-जापानको कूटनैतिक सम्बन्ध स्थापना सन् १९५६ को सेप्टेम्बरमा भएको भएता पनि जापानमा नेपाली राजदूतावास सन् १९६५ मा स्थापना भएको हो । त्यतिबेलासम्म जापानका लागि नेपाली राजदूतावास भारतको दिल्लीमा थियो । भारतको नयाँदिल्लीमा रहेको जापानको लागि नेपाली राजदूतावासमा पहिलो राजदूत भएर जानेमा दमन शमशेर र त्यसपछि क्रमशः नरप्रताप शमशेर थापा र प्रो. यदुनाथ खनाल गरी तीन जना राजदूतले दिल्लीमा बसेर काम गर्नुभएको थियो । कहिलेकाँही काम पर्दा मात्र उहाँहरु जापान आउने-जाने गर्नुहुन्थ्यो । त्यसपछि सन् १९६५ मा जापानमा राजदूतावास खुलेपछि पहिलो राजदूत भएर जानेमा भरतराज राजभण्डारी हुनुहुन्थ्यो भने त्यसपछि क्रमशः प्रकाशचन्द्र ठाकुर, डा. यादवप्रसाद पन्त, डा. बद्रिप्रसाद श्रेष्ठ, नारायणप्रसाद अर्जेल, डा. भारतप्रसाद धिताल, बिष्णुहरि नेपाल, केदारभक्त माथेमा, डा. रमेशानन्द वैद्य, गणेश योञ्जन तामाङ, म आफै (डा. मदनकुमार भट्टराई), प्रतिभा राणा र डा. दुर्गाबहादुर सुबेदी क्षेत्री जापानका लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेका थियौं । जापानले भने नेपाल (काठमाडौं) मा सन् १९६८ मा आफ्नो राजदूतावास खोलेको हो ।

७० औं वर्षगांठ पुग्दासम्म नेपालका लागि जापानजस्तो महत्वपूर्ण मित्रराष्ट्रमा नेपालको आफ्नै राजदूतावास भवन नहुनुमा नेपाल सरकारको ध्यान नपुगेको कि पहलकदमी नपुगेको, के लाग्छ यहाँलाई ? 
राजदूतावास भवनका सम्बन्धमा मेरो प्राथमिकता सरकारी स्तरमै उपलब्ध जग्गा र भवन लिने भएकोले जापान सरकाको नियम अनुसार चल्नुपर्ने र पालना गर्नुपर्ने प्रावधानहरुलाई ध्यानमा राख्दै जापान सरकार र नेपाल सरकारबीच डिल गर्दा उपयुक्त हुने देखिएकोले मेरो पालामा १, २ वटा प्रस्ताव पेश गरिएको पनि हो । तर विभिन्न कारणले गर्दा त्यो अगाडि बढ्न सकेन । जापानमा नेपाली राजदूतावास भवन जरुरी छ । जापान जस्तो नेपालका लागि महत्वपूर्ण मित्रराष्ट्रमा हाम्रो स्थायी दूतावास आवश्यक छ, यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । यसका लागि नयाँ सरकारको ध्यानाकर्षण गराउनुपर्दछ ।

करिव ३ लाख नेपाली रहेको जापानमा जनशक्ति अभावका कारण दूतावासमा समस्या भईरहेको सन्दर्भमा कर्मचारी थपका लागि के गर्न सकिएला ? यहाँको सुझाव के छ ?
म राजदूत भएको बेलामा पनि यो बिषय नउठेको होइन । म फर्केपछि १ जना अधिकृत स्तरको दरबन्दी थप भएको थियो । राजदूताबासका लागि कर्मचारीको दरबन्दी थप्ने विषय परराष्ट्र मन्त्रालयको मात्रै हात हुँदैन । यसमा अर्थ मन्त्रालय पनि जोडिएको हुन्छ । म भएको बेलामा पनि मैले निकै प्रयास गरेका हो तर नसकेकै हो । मलाई लाग्छ यसबारेमा अबको नयाँ सरकारको अवश्य ध्यान जाने छ । पहल र प्रयासलाई जारी राख्दै कतिपय अवस्थामा मन्त्रालयको मात्र भर नपरी स्थानीय जनशक्ति नियुक्ति गरेर पनि काम चलाउन सकिन्छ । किनभने भाषा, उपलब्धता र खर्चका हिसाबले स्थानीय जनशक्ति उपयुक्त देखिन्छ । यसैगरी दूतावासको कामको बोझलाई विकेन्द्रीकरण गरेर प्रविधिको उपयोग गर्दै अन्य सहरहरुबाट पनि सेवा प्रवाह गर्ने बारे सोचिनुपर्दछ । यसबाहेक सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राख्दै सार्बजनिक विदाको समयमा पनि राजदूतावासबाट अत्यावश्यक अतिरिक्त सेवा उपलब्ध गराउन सकिन्छ । दूतावासबाट प्रवाह हुने सेवालाई सकेसम्म अनलाइन सिष्टमबाट गर्न सकिने सुविधा बढाउँदै लैजानुपर्दछ ।

राजदूतहरुको काम, कर्त्तब्य र अधिकार क्षेत्रका बारेमा नेपाल सरकारले उनीहरुलाई समय समयमा अभिमुखीकरण लगायतका विभिन्न कार्यक्रमहरुमार्फत ध्यानाकर्षण गराउँछ होला, तर कतिपय राजदूतहरु अलि अस्वभाविक लाग्ने झिनामसिना कार्यक्रमहरुमा भ्याई-नभ्याई गरेर कार्यकाल गुजारेको पनि देखिन्छ, राष्ट्रकै प्रतिधिनित्व गर्ने जिम्मेवार राजदूतहरु स्वयम गम्भीर नभएको हो कि, राज्यको अनुमगन नपुगेको ?   
राजदूतहरु मुख्यतया कूटनीतिक सेवाबाट गएका र अर्को राजनैतिक नियुक्ति पाएर जाने गरी दुईप्रकारका राजदूतहरु हुन्छन् । उनीहरुका लागि परराष्ट्र मन्त्रालयले अभिमुखीकरण कार्यक्रम गर्छ तर तर त्यो पर्याप्त छैन । अर्को कुरो राजदूत भएर जानेहरु पनि त्यति गम्भीर भएको पाईदैन । यदाकदा अभिमुखीकरणमा मलाई पनि वक्ताकारुपमा बोलावट आएर जाने गरेको छु । कतिपय राजदूतहरु आफूलाई सबैकुरो थाहा भएको झैं गरी अभिमुखीकरण लिन आवश्यक नपर्ने जस्तो गर्दै भाग नै लिदैंनन् भने कतिपय राजनैतिक नियुक्ति पाएका शक्तिकेन्द्र निकट राजदूतहरु परराष्ट्र मन्त्रालयप्रति उत्तरदायी हुँदैंनन् । हामीकहाँ यदाकदा राजदूतलाई मन्त्री सरह भन्ने प्रचलन पनि छ यो गलत छ, यसले कतिपय अवस्थामा असजिलो अवस्था सिर्जना हुन सक्छ र गलत सन्देश जान सक्छ । राजदूत पद श्रेणीबिहिन पद हो । जहाँसम्म राजदूतहरुको कम महत्वपूर्ण क्षेत्रमा सक्रियता र क्रियाशिलताको कुरो छ राष्ट्रको प्रतिनिधि जस्तो जिम्मेवारीमा बसिसकेपछि सोहीअनुसारको क्रियाकलाप नागरिक स्तरबाट अपेक्षा हुनु स्वाभाविक छ । राजदूतहरु संवेदनशील र गम्भीर हुनैपर्छ ।

जापानका लागि नेपाली राजदूत हुँदा सबैभन्दा गर्व गर्न लायक आफुले गरेका कार्यहरु स्मरण गर्नुपर्दा ?
नेपालमा गएको सन् २०१५ को महाभूकम्पको बेला भूकम्प पीडितहरुका लागि जापानी र नेपाली समुदायसंग मिलेर करिव ६४ करोड रुपैंया राहत सहयोग संकलन गरेर प्रधानमन्त्री राहत कोषमा नेपाल पठाउने अवसर मेरा लागि अविस्मरणीय छ । त्यसैगरी सर्बोच्च शिखर समगरमाथाको पहिलो महिला आरोही जुन्को ताबेइसंग मिलेर च्यारिटी कार्यक्रम, सर्बोच्च शिखर सगरमाथाका ज्येष्ठ आरोही युइचिरो मियुरासंगको सहकार्यमा नेपालमा स्कुल भवन निर्माण तथा गर्भवती महिलाका लागि राहत विशेष च्यारिटी कार्यक्रम, सगरमाथा आरोहणको ६० औं वाषिर्कोत्सव मनाउने कार्य, जापानको कोया सहर लुम्बिनीसंग भगिनी सम्बन्धको स्थापना, ४८ महिना जापान बस्दा स्कुल, कलेज, संघसंस्था, दूतावासहरु गरेर ४४ वटा लेक्चर दिने कार्य र सबैभन्दा महत्वपूर्ण काम २००१ देखि बन्द भएको जापानले नेपाललाई उपलब्ध गराउँदै आएको ओडिए (अफिसियल डेभलपमेन्ट एसिष्टेन्स) लोन २०१३ मा मैले नै खुलाउने अवसर पाएँ । जसले गर्दा नेपालमा ठूला, ठूला प्रोजेक्टहरु पुनः सञ्चालनमा आएका छन् ।

जापानका लागि पूर्व नेपाली राजदूत भएर काम गरेको अनुभवको आधारमा यहाँको दृष्टिकोणमा जापानी जनता कस्तो लाग्छ ?
जापानी जनता जति नम्र मैले अन्त कहिँ पनि पाएको छैन । शिष्टाचारका हिसाबले जापानीहरु संसारमै अगाडि छन् । उनीहरुले नेपालीलाई गर्ने माया र नेपालप्रतिको सद्भाव जुन छ त्यो अपूर्व नै छ । यसलाई कायमै राखेर हामी बीचको सम्बन्धलाई अझ अगाडि बढाउँदै लैजानुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईको अनुभवमा जापानको नेपाली समुदाय कस्तो पाउनुभयो ?
लामो कूटनैतिक जीवनमा भोगेका अनुभवको आधारमा भन्नुपर्दा जापानमा रहेका नेपाली समुदायलाई मैले महत्वपूर्ण हिसाबले हेर्ने गरेको छु । ब्यक्तिगत हिसाबले भन्नुपर्दा म ४ वर्ष जापानमा रहँदा त्यहाँको नेपाली समुदायको सर्बोपरी सहयोग र सद्भाव अवश्य छँदै छ, मैले अन्य देशमा काम गर्दा भेटेका नेपाली समुदाय र जापानको नेपाली समुदायबीच एक तात्विक भिन्नता पाएको छु । जापानमा रहेको नेपाली समुदाय बढी व्यावसायिक र उद्यमी हुनुका साथै उनीहरुले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन ठूलो सहयोग गर्दै आईरहेका छन् भने जापानको अर्थतन्त्र उकास्नमा पनि सक्दो सहयोग गर्दै आईरहेका छन् ।

अब जापान कहिले आउनुहुन्छ ?
जापानका लागि राजदूतको कार्यकाल समाप्त गरी नेपाल फर्केको पनि १० वर्ष पुगिसकेको छ । यसै मेसो पारेर म र मेरी श्रीमती आउँदो मे महिनाको दोस्रो साता निजी भ्रमणका लागि जापान आउँदै छौं । आशा छ, जापान रहनुहुने धेरैभन्दा धेरै मित्रहरुसंग भेटघाट हुने नै छ ।

अन्तमा, जापानमा बस्ने नेपालीहरुलाई यहाँको सन्देश के छ ? 
जापान जस्तो मुलुकमा बसेर नेपालीहरुलाई सूचनाको सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली भाषामा प्रकाशन भईरहेको पत्रिकालाई विगत अढाईदशकदेखि निरन्तरता दिईरहनुभएको छ, अझै प्रगति र निरन्तरताको कामना गर्दछु । यसै पत्रिका मार्फत नेपाली नयाँ वर्ष २०८३ को अवसरमा जापानबासी नेपाली दाजुभाइ, दिदीबहिनीहरु तथा जापानी मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु । ***

तपाईको प्रतिक्रिया