Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनावका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको इरानको अन्तर्राष्ट्रिय हवाई सेवा शनिबारदेखि पुनः सुचारू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको अवधि थप गर्ने घोषणा गरेसँगै इरानले आफ्नो हवाई क्षेत्रलाई व्यावसायिक उडानका लागि खुला गरेको हो ।

तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि विभिन्न मुलुकका लागि उडानहरू सुरु भएका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार पुनः सञ्चालनमा आएको हवाई सेवामार्फत साउदी अरेबियाको मदिना, ओमानको मस्कट र टर्कीको इस्तानबुललगायत पश्चिम एसियाका प्रमुख सहरहरूमा उडान भइरहेका छन् ।

गत २८ फेब्रुअरीमा अमेरिका र इरानबीच सुरु भएको सैन्य टकराव र हमलाका कारण इरानको सम्पूर्ण हवाई सेवा प्रभावित भएको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इरानले ५६ दिनसम्मका लागि तेहरानबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरेको थियो । यस अवधिमा इरानको बाह्य विश्वसँगको हवाई सम्पर्क पूर्णतः विच्छेद रहेको थियो ।

तनाव कम गर्न छिमेकी मुलुक पाकिस्तानले सक्रिय मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । ८ अप्रिलमा पाकिस्तानको राजधानी इस्लामावादमा दुवै देशका उच्चस्तरीय वार्ताकारहरूबीच भएको छलफलपछि सुरुमा दुई हप्ताका लागि युद्धविरामको सहमति जुटेको थियो । यद्यपि, सो समयमा भएका शान्तिवार्ताले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।

पहिलो चरणको युद्धविरामको समयसीमा २१ अप्रिलमा समाप्त भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले पुनः अवधि थप गर्ने निर्णय गरेपछि हवाई सेवा सञ्चालनको बाटो प्रशस्त भएको हो ।

अन्तर्राष्ट्रिय उडान सुचारू भइरहँदा कूटनीतिक वृत्तमा पनि हलचल बढेको छ । हाल इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तान भ्रमणमा छन् भने अमेरिकी प्रतिनिधिमण्डल पनि इस्लामावादमै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, अर्को चरणको औपचारिक शान्तिवार्ता कहिले र कहाँ हुने भन्नेबारे अहिलेसम्म कुनै निश्चित टुङ्गो लागेको छैन ।

तपाईको प्रतिक्रिया