टोकियो – जापानको फुकुओका प्रान्तस्थित आसाकुरा शहरमा विदेशी नागरिकहरूलाई लक्षित गरी निर्माण गर्न लागिएको एउटा महत्वाकांक्षी अपार्टमेन्ट (कोन्डो) परियोजना रद्ध भएको छ । स्थानीय बासिन्दाको सडक प्रदर्शन र सामाजिक सञ्जालमा चलेको तीव्र आप्रवासन विरोधी अभियानपछि यो परियोजना ‘ब्याक टु द ड्रइङ बोर्ड’ (प्रारम्भिक चरण) मा फर्किएको हो ।
सन् २०२४ मा विकासकर्ता कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार, यस अपार्टमेन्टमा बस्ने बासिन्दाहरूमध्ये करिब ४० प्रतिशत चिनियाँ र अन्य ४० प्रतिशत हङकङ तथा ताइवानका हुने अनुमान गरिएको थियो । सुरुमा सामान्य देखिएको यो मुद्दा गत वर्षको अन्त्यतिर सामाजिक सञ्जालमा भाइरल भएसँगै उग्र बनेको थियो ।
गत डिसेम्बरमा करिब ६० जनाको समूहले जापानी राष्ट्रिय झण्डा (हिनोमारु) बोकेर आसाकुराको सडकमा मार्च गरेका थिए । ‘आसाकुरा शहरले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ’ भन्दै उनीहरूले नाराबाजी गरेका थिए। प्रदर्शनको नेतृत्व गर्नेहरूले यो मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउन सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका थिए ।
विरोध तीव्र बनेपछि विकासकर्ता कम्पनीले कुनै पनि राष्ट्रियताका व्यक्तिलाई युनिटहरू बिक्री गर्ने भन्दै नीति परिवर्तनको प्रयास गरेको थियो। तर, विवाद झन् बढ्दै गएपछि उक्त जग्गाका धनीले आफ्नो जग्गा परियोजनाका लागि दिन नसक्ने अडान लिए । अन्ततः अप्रिल १४ मा जग्गाधनी र विकासकर्ताबीच सहमति भएपछि यो परियोजना पूर्ण रूपमा रद्ध भएको हो ।
५० हजार जनसंख्या भएको यो शान्त शहर अहिले जापानभरका आप्रवासन विरोधीहरूको चर्चाको केन्द्र बनेको छ ।








