काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले आफ्नो नयाँ भूमिकालाई सिक्ने र सुधार गर्ने अवसरका रूपमा लिएको बताएका छन्। शुक्रबार सिंहदरबारमा पत्रकारसँगको अन्तरक्रियामा उनले राम्रो अभ्यासलाई निरन्तरता दिने र कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सञ्चारमाध्यमलाई रचनात्मक भूमिका खेल्न आग्रह गर्दै आलोचना मात्र नभई सुधारको अवसर दिन पनि आवश्यक रहेको बताए। सदनलाई अझ पारदर्शी बनाउन र सञ्चारमाध्यमलाई पहुँच विस्तार गर्न सुझाव दिन उनले पत्रकारहरूलाई आह्वान गरे। विधायकी काम ढिलो भइरहेको विषयमा सचेत रहेको बताउँदै उनले कानुन निर्माण प्रक्रियालाई छिटो बनाउने बताए। नागरिकले राज्यको उपस्थिति महसुस गर्न सक्ने गरी काम गर्ने उनको भनाइ छ।
यसैबीच, उनले छोराछोरीलाई सम्पत्तिभन्दा आत्मनिर्भर बन्ने वातावरण दिनुपर्ने धारणा राखे। सबै पक्षको सहकार्यबाट मात्रै संसदको गरिमा जोगाउन सकिने उनले उल्लेख गरे।








