Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

नेपालको परराष्ट्र नीतिमा लामो समयदेखि प्रयोग हुँदै आएको “समदूरी” र “समनिकटता” को अवधारणामाथि फेरि बहस सुरु भएको छ । बदलिँदो क्षेत्रीय शक्ति सन्तुलन, छिमेकी मुलुकहरूसँगको सम्बन्धको नयाँ स्वरूप तथा राजनीतिमा आएको परिवर्तनसँगै पुराना कूटनीतिक भाष्य पर्याप्त छन् कि छैनन् भन्ने प्रश्न उठ्न थालेको हो ।

नीति दस्तावेजदेखि राजनीतिक भाषणसम्म “समदूरी” शब्द पटक–पटक दोहोरिने गरे पनि व्यवहारमा यसको स्पष्ट परिभाषा र कार्यान्वयनबारे अझै मतैक्य छैन । कतिपय परराष्ट्र मामिला जानकारहरू नेपालले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बताउँछन् भने अर्का थरी विश्लेषकहरू “समान दूरी” भन्दा “राष्ट्रिय हितअनुसार व्यवहारिक सम्बन्ध” बढी उपयुक्त हुने तर्क गर्छन् ।

नेपाल भौगोलिक रूपमा भारत र चिन बीच अवस्थित छ । यही कारणले नेपाललाई विगतदेखि नै संवेदनशील कूटनीतिक अवस्थिति भएको मुलुकका रूपमा हेरिँदै आएको छ । तर दुवै छिमेकीसँग नेपालको सम्बन्धको प्रकृति भने समान छैन ।

भारतसँग नेपालको सम्बन्ध खुला सीमा, व्यापार, पारवहन, रोजगारी, सांस्कृतिक निकटता र जनस्तरको आवतजावतसँग जोडिएको छ । नेपालका अधिकांश आयात–निर्यात मार्ग भारतसँग सम्बन्धित छन् । ऊर्जा आपूर्ति, औषधि, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा समेत भारतसँगको सम्बन्ध प्रत्यक्ष रूपमा असर गर्ने प्रकृतिको छ ।

अर्कोतर्फ, चीनसँग नेपालको सम्बन्ध पछिल्ला वर्षहरूमा विस्तारोन्मुख छ । पूर्वाधार निर्माण, लगानी, पर्यटन, सडक सञ्जाल तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य बढाउने प्रयास भएका छन् । तर सहमति भएका धेरै परियोजनाहरू कार्यान्वयन चरणमा सुस्त गतिमा रहेको टिप्पणी पनि हुँदै आएको छ ।

पूर्वराजदूत तथा परराष्ट्र नीति विश्लेषकहरूका अनुसार यही असमान यथार्थका कारण “समदूरी” शब्द व्यवहारमा जटिल देखिन्छ । पूर्वकूटनीतिज्ञ भन्छन्, “भारतसँगको सम्बन्ध जीवन्त सामाजिक र आर्थिक संरचनासँग जोडिएको छ, जबकि चीनसँगको सम्बन्ध रणनीतिक र विकास सम्भावनामा केन्द्रित छ । यी दुई सम्बन्धलाई एउटै मापनमा राख्न सकिँदैन ।”

पछिल्ला वर्षहरूमा नेपालले दुवै छिमेकीसँग सम्बन्ध सन्तुलनमा राख्ने प्रयास गरेको देखिए पनि समय–समयमा उतारचढाव देखा परेका छन् । कहिले सीमा विवाद, कहिले व्यापारिक अवरोध, कहिले उच्चस्तरीय भ्रमणको सन्देश, त कहिले ठूला परियोजनाको प्रगति । यी सबैले नेपालको परराष्ट्र नीति अझै प्रतिक्रियात्मक रहेको संकेत गर्ने विश्लेषणहरू छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार आधुनिक कूटनीति अब केवल “दूरी” मा आधारित छैन । व्यापार, लगानी, आपूर्ति शृंखला, सुरक्षा, जलवायु, प्रविधि र बहुपक्षीय सहकार्य अहिलेका मुख्य मुद्दा हुन् । त्यसैले “सबैसँग बराबर दूरी” भन्दा “सबैसँग राष्ट्रिय हितअनुसार सम्बन्ध” बढी व्यावहारिक नीति हुन देखिन्छ ।

नेपालका लागि अर्को चुनौती भनेको संस्थागत क्षमता पनि हो । परराष्ट्र नीतिमा निरन्तरता, दक्ष जनशक्ति, स्पष्ट प्राथमिकता र दीर्घकालीन रणनीति बिना कुनै पनि सिद्धान्त व्यवहारमा सफल हुन नसक्ने जानकारहरूको भनाइ छ । सरकार परिवर्तन, नीतिगत अस्थिरता र कार्यान्वयनको कमजोरीले पनि कूटनीतिक प्रभावकारितामा असर पार्ने गरेको छ ।

कूटनीतिक वृत्तमा अहिले अर्को प्रश्न पनि उठेको छ । नेपालले अब आफूलाई “बीचमा परेको देश” का रूपमा हेर्ने कि “जोड्ने देश” का रूपमा ? दक्षिण एशिया र उत्तर एशियाबीच व्यापार, ऊर्जा, पर्यटन र पारवहनको सेतु बन्ने सम्भावना नेपालसँग रहेको विश्लेषण गरिन्छ । तर त्यसका लागि घोषणाभन्दा बढी तयारी आवश्यक पर्ने विज्ञहरू बताउँछन् ।

परराष्ट्र मामिलाका जानाकारहरूका अनुसार, “समदूरी एउटा आकर्षक राजनीतिक शब्द हुन सक्छ, तर व्यवहारमा त्यसको अर्थ परिस्थिति अनुसार बदलिन्छ । वास्तविक प्रश्न भनेको नेपालले कुन निर्णयबाट आफ्नो हित सुरक्षित गर्छ भन्ने हो ।”

अन्ततः, नेपालको परराष्ट्र नीतिमाथिको बहस शब्दको छनोटमा सीमित छैन। यो बहस बदलिँदो विश्व परिवेशमा नेपालले आफ्नो भूमिका कसरी परिभाषित गर्ने भन्ने मूल प्रश्नसँग जोडिएको छ। समदूरी, समनिकटता वा सन्तुलित कूटनीति—जुनसुकै शब्द प्रयोग गरिए पनि त्यसको परीक्षा व्यवहारमै हुने देखिन्छ।

तपाईको प्रतिक्रिया