काठमाडौँ – आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। वैशाख कृष्ण औँसीमा पर्ने यस पर्वमा छोराछोरीले स्नान गरी आमालाई राम्रो लुगा लगाइदिने, मीठा तथा पौष्टिक परिकार खुवाउने र आशीर्वाद लिने चलन छ। आमा नभएका व्यक्तिहरूले भने श्राद्ध, तर्पण र पूजा गरेर दिवङ्गत आमाको सम्झना गर्छन्। यसरी मातृऋण तिर्न सकिने धार्मिक विश्वास रहेको छ।
यस अवसरमा काठमाडौँको चन्द्रागिरि–६ स्थित मातातीर्थ कुण्डमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। आमा गुमाएका व्यक्तिहरूले कुण्डमा स्नान गर्ने, हरिहर (विष्णु र शिव)को दर्शन तथा पूजा गर्ने परम्परा रहेको छ। यहाँ स्नान र पूजा गरे मातृऋणबाट मुक्ति मिल्ने जनविश्वास छ।








