
टोकियो — अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्न वार्ता यसै साता पुनः सुरु हुन सक्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आगामी दुई दिनभित्र पाकिस्तानमा वार्ता पुनः सुरु हुन सक्ने बताएका छन् ।
गत साता भएको वार्ता असफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको थियो । तर, अमेरिका, पाकिस्तान र इरानका अधिकारीहरूले दुवै पक्षका वार्ता टोली फेरि पाकिस्तान फर्किन सक्ने बताएका छन्, यद्यपि मिति भने तय भइसकेको छैन ।
अमेरिकी नाकाबन्दीपछि तेहरानले कडा प्रतिक्रिया जनाएको भए पनि वार्ता पुनः सुरु हुने संकेतले अन्तर्राष्ट्रिय तेल बजारमा केही शान्ति देखिएको छ । मंगलबार तेलको मूल्य १०० डलरभन्दा तल झरेको थियो ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका क्रममा इरानले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गरिदिएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ । यस द्वन्द्वबाट हालसम्म करिब ५ हजार मानिसको ज्यान गइसकेको अनुमान छ ।
पछिल्लो वार्तामा इरानको परमाणु कार्यक्रम मुख्य विवादको विषय बनेको थियो । अमेरिकाले २० वर्षसम्म परमाणु गतिविधि स्थगनको प्रस्ताव राख्दा इरानले ३–५ वर्षको प्रस्ताव अघि सारेको स्रोतहरूले जनाएका छन् । साथै, अमेरिका इरानभित्र रहेका समृद्ध युरेनियम हटाउन दबाब दिइरहेको छ ।
वार्तासम्बद्ध एक स्रोतका अनुसार पछिल्लो समय अनौपचारिक संवादमार्फत दुवै पक्षबीच मतभेद कम गर्ने प्रयास भइरहेको छ, जसले नयाँ चरणको वार्तामा सम्झौता नजिक पुग्न सक्ने संकेत दिएको छ ।
यसैबीच, अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहसम्म नपुगेको दाबी गरेको छ । तर, जहाज ट्राफिक तथ्यांकले होर्मुज जलडमरूमा आवतजावत जारी रहेको देखाएको छ ।
यस तनावले विश्व ऊर्जा सुरक्षामा थप अनिश्चितता सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले द्वन्द्व बढेमा विश्व अर्थतन्त्र मन्दीको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ भने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले तेल आपूर्ति र मागको प्रक्षेपण घटाएको छ ।
अमेरिकाका नाटो सहयोगीहरू बेलायत र फ्रान्सले नाकाबन्दीमा प्रत्यक्ष संलग्न नहुने बताएका छन् । यता चीनले अमेरिकी कदमलाई “खतरनाक र गैरजिम्मेवार” भन्दै आलोचना गरेको छ ।
युद्धप्रति घरेलु असन्तुष्टि र बढ्दो ऊर्जा मूल्यका कारण राष्ट्रपति ट्रम्पले गत साता आक्रमण रोक्ने निर्णय गरेका थिए । यद्यपि, दुबै पक्षबाट कडा अभिव्यक्ति जारी रहे पनि एक साता लामो युद्धविराम हालसम्म कायम रहेको छ ।
इरानले अमेरिकी कदमलाई “समुद्री डकैती” को संज्ञा दिएको छ भने ट्रम्पले इरानी नौसेना लगभग पूर्ण रूपमा नष्ट भइसकेको दाबी गरेका छन् । उनले नाकाबन्दी नजिक आउने जहाजलाई तत्काल ध्वस्त पारिने चेतावनी समेत दिएका छन् ।








